बोक्सी बकाउने भन्दै बालिकामाथि कुटपिट

बोक्सी बकाउने भन्दै शहीद लखन गाउँपालिका-६ घैरुङस्थित बास्कोटकी १५ वर्षीया जानुका श्रेष्ठलाई फागुन २३ गते कुटपिट भएको छ ।

हिमालय माविमा कक्षा ८ मा अध्ययन गर्ने जानुका बिरामी परेपछि उनकी आमा पार्वती श्रेष्ठले बोक्सी बकाउने भन्दै कुटपिट गरेकी प्रत्यक्षदर्शीले बताएका छन् ।

विद्यालयका प्रध्यानाध्यापक सिताराम ढकालका अनुसार फागुन २३ गते बिहान ११ बजेतिर जानुका बिरामी परेकी थिइन् । 'दोस्रो पिरयड चलिरहेको समयमा जानुका एक्कासी बिरामी परिन् । कितावले साथीहरूलाई हिर्काउने, बरबराउने गरेपछि हामीले उनको आमालाई खबर गर्‍यौँ ।'-प्रध्यानाध्यापक ढकालले भने-'विद्यालयमा आमा आएपछि कुटपिट गर्न थालिन् ।'

पीडित बालिकाकी आमाले विद्यालयमै बोक्सी बकाउने भन्दै कुटपिट गर्न थालेको प्रत्यक्षदर्शी बताउँछन् ।

बास्कोटकै करिब ६५ वर्षीय मखनाको नाम 'बोक्सी' भन्दै जोडिएपछि फागुन २३ गते नै गाउँलेहरूको बैठक बसेको स्थानीय दिने श्रेष्ठले बताए । गाउँ भेलामा सहमति जुट्न नसकेको उनको भनाइ छ ।

आफूलाई बोक्सीको आरोप लगाएको भन्दै मखनाले गाउँपालिकामा फागुन २७ गते निवेदन दिएको गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले बताइन् ।

'निवेदन आएपछि मैले फोन सर्म्पर्क गरेँ । बालिकाकी आमा ठूलो छोरी बिरामी भएर भरतपुर हुनुहुँदोरहेछ । आएपछि छलफल गर्ने भनेको छु ।'-उपप्रमुख तिवारीले भनिन् ।

जिल्ला प्रहरी कार्यालयमा भने फागुन ३० गते साँझसम्म निवेदन दर्ता नभएको एसपी प्रकाश अधिकारीले बताए । 'हिजो (फागुन २९ गते) साँझ मखना आउनुभएको थियो । निवेदन लिएर आउनु भनेर पठाएकोमा उहाँ आउनुभएको छैन ।'-अधिकारीले भने-'उहाँ नआएपछि खोजीका लागि आज फेरि टोली परिचालन गरेका छौँ ।' गाउँमा मिलाउने प्रयास हुँदा नमिलेपछि घटना र्सार्वजनिक भएको हो ।

फागुन ३० गते जिल्ला प्रहरी कार्यालय, पत्रकार, इन्सेककर्मीलगायतको टोली बास्कोट पुगेको थियो । स्थानीयहरूले घटनाको बारेमा जानकारी दिए पनि आफ्नो नाम सार्वजनिक नगर्न पत्रकार र इन्सेकर्मीसँग अनुरोध गरेका थिए ।

पीडित बालिकाको स्वास्थ्य जाँच फागुन ३० गते घैरुङ स्वास्थ्य चौकीमा भएको छ । प्रहरी टोली सोधपुछका लागि विद्यालय पुगेका वेला स्वास्थ्य जाँच पनि गरिएको हो ।


हरिराम उप्रेती