‘बोक्सी’ आरोपमा दुई महिलामाथि कुटपिट

  ०७९ जेठ २९ गते

जलेश्वर नगरपालिका–६ धबौली टोलमा बस्ने ५५ वर्षीया कालोदेवी महतो र सोही ठाउँकी ५४ वर्षीया दुलरिया देवी रामलाई जेठ २६ गते सोही ठाउँका ४५ वर्षीय भुलन राम, ५० वर्षीय तलेवर राम, २५ वर्षीय राकेश राम, २४ वर्षीय रवि राम, ३० वर्षीय रामु राम, २८ वर्षीया सोमनी भनिने सोमारी देवी राम र २५ वर्षीया आरती रामले ‘बोक्सी’ को आरोपमा कुटपिट गरेको पीडित परिवारले जनाएको छ ।

‘बोक्सी’ भन्दै कुटपिट गरेको आरोपमा प्रहरीले भुलन राम र सोमनी भनिने सोमारी देवी रामलाई जेठ २६ गते गिरफ्तार गरेको छ ।

घरबाट बाहिर सडकमा बोलाएर आफूलाई ‘बोक्सी’ भन्दै कुटपिट गरेको र अभक्ष कोच्याउने प्रयास गरेको पीडित कालोदेवीले घटनाको जानकारी लिन जानकी हेल्थ केयर जनकपुर अस्पताल पुगेको इन्सेकको टोलीलाई जेठ २८ गते बताउनु भयो ।

आमालाई घरबाट बाहिर बोलाएर आरोपितहरूले ‘बोक्सी’ भन्दै नाङ्गै बनाएर कुटपिट गरेको देखेर छुटाउन जाँदा आफूलाई समेत कुटपिटको प्रयास गरेपछि बिर्तामोड प्रहरी चौकीलाई फोन गरेर जानकारी गराएको पीडितका छोरा अमितकुमार महतोले बताउनु भयो ।

बिर्तामोड प्रहरी चौकीबाट प्रहरी आएपछि आमालाई उद्दार गरेर जलेश्वर अस्पतालमा जेठ २६ गते भर्ना गरिएकोमा थप उपचारका लागि सोही दिन धनुषाको जनकपुरस्थित जानकी हेल्थ केयरमा ल्याइएको अमित कुमारले बताउनु भयो ।

घटनामा संलग्न आरोपितहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय जलेश्वरमा जेठ २७ गते उजुरी दिएको पीडितका छोरा अमितकुमार मतोले जानकारी दिनु भयो ।

खेतमा काम गरिरहेकी दुलारी देवी रामलाई आरोपितहरूले नियन्त्रणमा लिएर घरमा ल्याई ‘बोक्सी’को आरोपमा कुटपिट गर्दै नाङ्गै बनाएपछि नजिकैको पोखरीमा हाम फालेको पीडितले बताउनु भयो ।

पीडितले पोखरीमा हाम फालेपछि स्थानीयले उद्दार गरेको पीडितका छोरा अशोक रामले बताउनु भयो ।

पीडित दुई महिलालाई भुतप्रेत लगाएको भन्दै स्थानीय सोमन भनिने सोमारी देवी र भुलन राम लगायतले हात, लाठी र लात्तीले कुटपिट गरेको उजुरी आएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका इन्स्पेक्टर सरोज राइले बताउनु भयो ।

कुटपिट घटनाका आरोपित भुलन राम र सोमनी भनिने सोमारी देवीलाई घटनास्थलबाटै गिरफ्तार गरेर ‘बोक्सी’को आरोप लगाई कुटपिट गरेर ज्यान मार्ने उद्योग शीर्षकमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

घटनाका अन्य आरोपित फरार भएकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।


अजयकुमार साह