‘बोक्सी’ आरोपमा कुटपिट

  ०८१ साउन ७ गते

राजगढ गाउँपालिका-२ कमलपुरकी ३७ वर्षीया महिलामाथि ‘बोक्सी’को आरोप लगाउँदै अमानवीय व्यवहार र कुटपिट गरेको भन्दै पीडित महिलाले ०८१ साउन ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।

राजगढ गाउँपालिका-२ कमलपुरका ५६ वर्षीय सीताराम यादव, उनकी पत्नी ५० वर्षीया सतनी देबी यादव, निजहरूका छोरा २६ वर्षीय मनभरन भनिने मनिष कुमार यादव, अर्का छोरा २३ वर्षीय जितु भनिने जितेन्द्र कुमार यादब, छिमेकीहरू ३५ वर्षीय लालु प्रसाद यादव र ६२ वर्षीय देब नारायण साहुले ‘बोक्सी’को आरोपमा पीडितलाई साउन ५ गते कुटपिट गरेको गाउँलेहरूले बताए ।

पीडितका पति वैदेशिक रोजगारका लागि कतारमा छन् । नाबालिका छोरीसँग बसेकी पीडितलाई आरोपित सीताराम र उहाँकी पत्नी सतनीदेबीले विरामी छोरा मनिषलाई निको पार्न भन्दै साउन ५ गते विहान ७ बजेदेखि कुटपिट गरेको स्थानीय सकुर मियाँले जानकारी दिनुभयो । मनिषलाई टुनामुना गरेर ‘बोक्सी’ लगाएर विरामी पारेकोले ठिक नगरे मलमुत्र खुवाएर ‘बोक्सी’ विद्या नष्ट गर्ने भन्दै पीडितलाई धम्की दिएपछि मनिषले जगल्टा समातेर घिस्याउँदै पीडितलाई २ सय मिटर टाढा रहेको आफ्नो घर लगेर बन्धक बनाएको पीडित महिलाले बताउनु भयो ।

पीडितको घरआँगनदेखि विहान ७ बजे घिस्याएर सार्वजनिक सडक हुँदै आरोपितहरूले आफ्नो घर लगेर दिउँसो एक बजेसम्म नियन्त्रणमा राखेर केरकार गरेको र ‘बोक्सी’ विद्या नष्ट गर्न भन्दै अडहुल फूल खुवाएको पीडितले बताउनु भयो । घटनाबारे जानकारी पाएर प्रहरी चौकी झुटकीबाट उद्धारका लागि पुगेको चार जनाको प्रहरी टोलीलाई समेत आरोपितहरूले अवरोध पुर्‍याएपछि इलाका प्रहरी कार्यालय कल्याणपुरबाट मद्दतका लागि थप प्रहरी टोली पुगेको स्थानीय मोहम्मद समिदले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका एसपी गजु सिद्धी ब्रजाचार्यले घटनाको भिडिओ हेरेपछि थप अनुसन्धान गरी आवश्यक कारवाही अगाडि बढाइने बताउनु भयो ।


मनोहरकुमार पोखरेल