‘बोक्सी’को आरोपमा कुटपिट गरी अभक्ष कोच्याउने प्रयास, आरोपितविरूद्ध उजुरी

  ०७९ साउन २५ गते

बलरा नपा–१० सुदामा टोलीकी ३६ वर्षीया रितादेवी ठाकुरलाई ‘बोक्सी’को आरोपमा कुटपिट गरी अभक्ष कोच्याउने प्रयास गरेको आरोपमा सोही ठाउँका ३२ वर्षीय चुनचुन भण्डारी र २७ वर्षीय सञ्जय भण्डारीविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा साउन २४ गते उजुरी दिएको छ ।

साउन २२ गते घरमा आएर ‘बोक्सी’को आरोप लगाएर गालिगलौज गर्दै लछारपछार गरी कुटपिट गरेको भन्दै पीडितले साउन २३ गते जानकारी गराई शान्ति सुरक्षाको लागि इलाका प्रहरी कार्यालय गडहिया डुमरीयामा आग्रह गरेपछि आरोपितहरूले पुनः कुटपिट गरेको पीडित रितादेवीको आरोप छ ।

पीडित महिलालाई आरोपितहरूले अभक्ष कोच्याउने प्रयास गर्दा छुट्याउन आउने छिमेकी र बालबालिकालाई समेत कुटपिट गरेको पीडित रितादेवीको आरोप छ ।

काुननी प्रक्रियामा अघि बढेपछि घटनालाई स्थानीय स्तरमै मिलापत्र गर्नका लागि साउन २४ गते राति आरोपित पक्षबाट दबाब आएको पीडितको गुनासो छ ।

पीडित महिलाको उपचार साउन २२ गते गडहीया डुमरीया स्वास्थ्य चौकीमा गरी थप उपचार साउन २३ गते जिल्ला अस्पताल मलङ्गवामा गरिएको छ ।

लिखित उजुरी प्राप्त भएकाले आरोपितहरूलाई गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालयका डिएसपी विजय यादवले जानकारी दिनु भयो ।

पीडित महिलाको घाउजाँच परीक्षण साउन २४ गते जिल्ला अस्पतालमा गरिएको छ ।


बुधन साह