‘बोक्सी’कोे मुद्दा मुल्तबीमा राख्ने फैसला

  ०७९ माघ १ गते

सुरुङ्गा नपा–९ टिकुलियाकी ४८ वर्षीया महिलालाई ‘बोक्सी’को आरोपमा गालीगलौज र कुटपिट गरेको आरोपमा फरार रहेका सुरुङ्गा नपा–९ टिकुलियाका ५० वर्षीय जगदेव यादव, सिराहाको सखुवा नन्कारकट्टी गापा–४ का ५५ वर्षीय छुतहरु बैदा यादव र उनका भाई ५० वर्षीय गंगाई वैदा यादवविरुद्धको उजुरी २०७९ पुस २८ गते मुल्तबीमा राख्ने फैसला भएको छ ।
जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलाशले मुद्दाको अन्तिम आदेश गर्दै मुल्तबीमा राख्ने फैसला गरेको सप्तरी जिल्ला अदालतले जानकारी दिएको छ ।
पीडित र पति मात्र घरमा सुतेका बेला ०७७ मङ्सिर १९ गते राति आरोपितहरूले ‘बोक्सी’को आरोपमा गालीगलौज र कुटपिट गरेको पीडितले बताउनु भयो । इलाका प्रहरी कार्यालय कडरबोनामा ०७७ मङ्सिर २६ गते र मङ्सिर ३० गते उजुरी लिएर जाँदा दर्ता नगरेपछि जिल्ला हुलाक कार्यालयबाट पुस १ गते उजुरी पठाएको पीडितले बताउनु भयो ।
उच्च अदालत जनकपुर राजविराज इजलाशमा ०७८ पुस २७ गते पीडितले परमादेश दिएकोमा ०७८ साउन ३१ गते न्यायाधीशद्वय बासुदेव आचार्य र टेकप्रसाद गुरुङको संयुक्त इजलाशले परमादेश जारी गरेको थियो । इलाका प्रहरी कार्यालय कडरबोनाले ०७८ असोज २४ गते उजुरी सनाखत गरे पनि मङ्सिर २ गते मात्र दर्ता गरेको थियो । प्रहरीले पीडितको स्वास्थ्य परीक्षण ०७८ पुस ९ गते गरेको थियो ।
जिल्ला अदालतमा ०७८ माघ २ गते अभियोगपत्र दायर भएकोमा सोही दिन अदालतले फरार रहेका आरोपितहरूका नाममा वारेण्टसहितको म्यादी पुर्जी जारी गरेको छ । प्रहरीले उजुरी दर्ता गरी आरोपितको खोजीकार्य गरेपनि हालसम्म फेला नपरेको जनाएको छ भने पीडितले सुरुदेखि नै प्रहरीले आलटाल र वेवास्ता गर्दै आएको गुनासो गरेको छ ।


मनोहरकुमार पोखरेल