बैद्य-प्रकाश मानव अधिकार परस्कारबाट अधिकारकर्मी सदा सम्मानित

बैद्य-प्रकाश मानव अधिकार कोष समितिको आयोजनामा इन्सेकका संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको २६ औँ स्मृति दिवसका अवसरमा बैद्य-प्रकाश मानव अधिकार पुरस्कारबाट दुई दशकदेखि दलित, भूमिहिन, सुकुमबासीहरूको अधिकारका लागि क्रियाशील असर्फि सदालाई सम्मान गरिएको छ ।

साउन १६ गते राजविराजस्थित नेपाल पत्रकार महासङ्घ सप्तरीको सभाकक्षमा उनलाई सम्मान गरिएको हो । कार्यक्रममा इन्सेक विराटनगर कार्यालयका संयोजक सोमराज थापाले अधिकारकर्मी, पेशाकर्मी र सरकारी निकायका प्रमुखबीच आवश्यक समन्वय भए संविधानमा व्यवस्था भए बमोजिम मानवअधिकारको रक्षा र सम्बर्द्धन हुने विश्वास व्यक्त गरे ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले तीन तहको निर्वाचनपछि राजनीतिक अधिकारसँगै सबै खाले अधिकारका बारेमा नागरिक सचेत भएकाले मानव अधिकारको रक्षाका निम्ति सरकारी, गैरसरकारी सङ्घ-संस्थाका प्रतिनिधिहरू परिवर्तनका लागि एकजुट हुनुपर्ने आवश्यक्ता औँल्याए । त्यसका लागि संविधानमै मानव अधिकारलाई प्राथमिकता दिएको उनले बताए ।

कार्यक्रममा नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, पत्रकार शिवहरी भट्टराईले मुलुकको मानव अधिकारको अवस्था सन्तोषजनक नभएको अवस्थामा स्व. काफ्लेको अभाव खडि्कएको बताए ।

कार्यक्रममा दुई दशकदेखि दलित, भूमिहिन, सुकुमबासीहरूको हक अधिकार प्राप्ति र संरक्षणको आन्दोलनलाई नेतृत्व गर्दै मानव अधिकार र सामाजिक न्यायका लागि निरन्तर क्रियाशील ४४ वर्षीय सदालाई 'बैद्य-प्रकाश मानव अधिकार पुरस्कार २०७५' बाट सम्मान गरियो । सम्मानित व्यक्तित्व सदालाई सम्मानपत्र, दोसल्लासहित ३ हजार १ सय पाँच रुपियाँ प्रदान गरिएको छ ।

सम्मानले उत्साहित बनाएको भन्दै सम्मानित सदाले आगामी दिनमा सामाजिक न्याय र मानव अधिकारका क्षेत्रमा क्रियाशील रहने प्रतिबद्धता जनउँदै आउने पुस्तालाई सामाजिक न्यायका लागि हौसला प्रदान गर्न उत्प्रेरणा दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य अवधेश झा, डाकनेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साहले मानव अधिकार उल्लङ्घनका दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउन राज्य र सरोकारवाला निकायको ध्यान जानुपर्ने बताए ।

बैद्य-प्रकाश मानव अधिकार कोष समितिका अध्यक्ष बैद्यनाथ झाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको आरम्भमा सहभागीहरूले स्वर्गीय प्रकाश काफ्लेको तस्वीरमा अबिर, माला र पुष्पगुच्छासहित श्रद्धाञ्जली अर्पण गरेका थिए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा '२१ औँ प्रकाश मानव अधिकार पुरस्कार'बाट सम्मानित राजविराज नपा-७ का बैद्यनाथ झाले प्राप्त गरेको नगद रु. ५० हजारबाट स्थापना गरिएको बैद्य-प्रकाश मानव अधिकार पुरस्कारबाट पहिलोपटक सप्तरीको मधुपट्टी गाविस-६ का दलित आन्दोलनका अगुवा बलदेव राम र दोस्रो पटक छिन्नमस्ता गाउँपालिका-२ का युक्तिलाल मरिकलाई सम्मानित गरिएको थियो ।

थाइ एयरबसको विमान नुवाकोटको घोप्टेभीरमा ०४९ साउन १६ गते दुर्घटना हुँदा इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको निधन भएको थियो ।

1

1

1

1

1


मनोहरकुमार पोखरेल