बैतडीमा सिटामोललगायत अत्यावश्यक औषधि अभाव

बैतडीका सरकारी स्वास्थ्य संस्थामा अति आवश्यक सहित एक दर्जनभन्दा बढी औषधिको अभाव हुँदा बिरामीहरूलाई समस्या भएको छ ।

अति आवश्यक औषधिको सूचीमा पर्ने सिटामोल, आइरन चक्कीलगायतका औषधि नपाएपछि बिरामी मर्कामा परेका हुन् । आइरन चक्की नपाउँदा गर्भवती भएको ६ महिना हुँदासम्म पनि आइरन चक्की सेवन नगरेको पाटन नगरपालिका सिद्घेश्वरकी ईश्वरी चन्दले बताइन् ।

'स्वास्थ्य चौकी आउँछु । आइरन चक्की पाइँदैन । गर्भवती भएको ६ महिनासम्म पनि आइरन खाएको छैन ।'-उनले भनिन्-'डाक्टरले अनिवार्यरूपमा गर्भवती हुँदा आइरन सेवन गर्नुपर्छ भन्नुहुन्छ । कहाँबाट ल्याएर खाने ?'

बिरामी भएर स्वास्थ्य संस्थामा पुगेका पाटनका दिनेश अवस्थीले पनि औषधि नपाएको गुनासो गरे । 'स्वास्थ्य संस्थामै औषधि पाइन छोडेको छ ।'-उनले भने-सरकारले निःशुल्क रूपमा उपलब्ध गराउने औषधि नै मिल्न छोड्यो, मेडिकलबाट किन्ने पैसा छैन ।'

स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा उपचारमा पनि समस्या भएको पाटन नगरपालिकाको सिद्घेश्वर स्वास्थ्य चौकीका अनमी लक्ष्मी भट्टले जानकारी दिनुभयो । 'सामान्य ज्वरो आएको बेला दिइने सिटामोल समेत छैन ।'-उनले भनिन्-'गर्भवती महिलाले नियमित सेवन गर्ने आइरन चक्कीको समेत अभाव छ ।'

गर्भवती महिलाले नियमित रूपमा २ सय २५ दिनसम्म लगातार सेवन गर्नुपर्ने आइरन चक्कीसमेत अभाव रहेको अनमी भट्टले बताइन् । 'गएको तीन महिनादेखि आइरन चक्की र सिटामोलको समेत अभाव भएको छ ।'-उनले भनिन्-'आइरन चक्कीको समेत अभाव हुँदा आमा बच्चाको समेत स्वास्थ्यमा असर पर्ने देखिन्छ ।' आजभोलि रूघाखोकी, झाडापखाला, भाइरल ज्वरोका बिरामी बढिरहेको भएपनि औषधि नपाउँदा उपचारमा समस्या भएको छ ।

बैतडीका स्वास्थ्यसंस्थामा वैशाखदेखि औषधि अभाव भएको स्वास्थ्य संस्थाले जनाएका छन् । सरकारले स्वास्थ्य चौकीमार्फत ३६ प्रकारका औषधि निःशुल्क रूपमा उपलब्ध गराउने भनेको भएपनि अत्यावश्यक औषधि अभाव रहेको हाट स्वास्थ्य चौकीका इञ्चार्ज विनोदकुमार कुँवरले बताए । उनले भने-'आन्तरिक श्रोतबाट केही औषधि खरिद गरिएको भएपनि पछिल्लो समयमा औषधि अभाव भएको छ ।'

तल्लोस्वराडमा रहेको उदयदेव स्वास्थ्य चौकीमा पनि सिटामोल र आइरन चक्की एक महिनादेखि अभाव रहेको स्वास्थ्य चौकीका इञ्चार्ज शिवकुमार कठरियाले बताए । 'औषधिको अभाव हुँदा बिरामीलाई रित्तै हात घर पठाउनुपर्छ ।'-उनले भने-स्वास्थ्य चौकीमा आएका बिरामी तथा स्थानीय बासिन्दा औषधि नपाउँदा आक्रोशित हुने गरेका छन् ।'

स्वास्थ्यचौकीका लागि २० प्रकारको औषधि भएपनि थप १६ प्रकारको औषधिको भने अभाव रहेको जिल्ला स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख डा. गुणराज अवस्थीले बताए । 'शतप्रतिशत औषधि कहिल्यै पनि पूर्ति हुन सकेको छैन ।'-उनले भने-'सबै अधिकार स्थानीय तहलाई दिएको भएपनि औषधि कसले किन्ने भन्ने टुङ्गो नलाग्दा अभाव भएको हो ।'

औषधि अभाव भएका स्वास्थ्यसंस्थामा एक/दुई महिना अझै औषधिको अभाव हुने देखिएको जिल्ला स्वास्थ्य कार्यालय, बैतडीले जनाएको छ । औषधि अभाव देखाउँदै दुर्गमका स्वास्थ्यचौकी दिउँसो १ बजे नै बन्द हुने गरेका छन् । सरकारले साँझ ५ बजेसम्म स्वास्थ्यचौकी खोल्ने नियम बनाए पनि त्यो नियमको भने परिपालना हुन सकेको छैन ।


नरी बडु