बैङ्किक प्रणालीमार्फत् सामाजिक सुरक्षा भत्ता वितरण, भत्ता लिन सास्ती भएको ज्येष्ठ नागरिकको गुनासो
मानेभञ्ज्याङ गाउँपालिका–९ माधवपुरकी ७७ वर्षीया चन्द्रकुमारी बस्नेत गोडा दुख्ने समस्याले राम्रोसँग हिँड्डुल गर्न सक्नुहुन्न । तर, उहाँलाई सरकारले प्रदान गर्ने वृद्धा भत्ता लिन बैङ्कसम्म पुग्नै पर्ने बाध्यता छ ।
‘सँधै गाडी पाइँदैन, हिँडेर जान गोडा दुखेर मर्नु हुन्छ । गाडी मै जाँदा पनि निकै गाहृो हुन्छ, के गर्नु सरकारले के नियम लाइदियो जसरी नि बैङ्कसम्म आँफै नपुगि नहुने रे ।’वृद्धा भत्ता बुझ्न मानेभञ्ज्याङ बजारमा रहेको राष्ट्रिय वाणिज्य बैङ्कको शाखा कार्यालयमा आइपुग्नु भएकी बस्नेतले इन्सेक प्रतिनिधिसँगको भेटमा दुख सुनाउनु भयो । सामाजिक सुरक्षा भत्ताले औषधि खाने गरेको उहाँले बताउनु भयो ।
सिद्धिचरण नगरपालिका–४ का ३८ वर्षीय भेषनाथ दाहाल पूर्ण अपाङ्गता भएर थलिएका कारण कतै हिँड्डुल गर्न सक्नुहुन्न । उहाँले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता उहाँका बाबु खेमप्रसाद दाहालले मञ्जुरी नामा लिएर ल्याउने गर्नु भएको छ । पहिले वडामै दिँदा निकै सजिलो थियो, अहिले बैङ्कसम्म जानु पर्छ । कागजपत्र र बैङ्कसम्म पुग्नु पर्दा सामाजिक सुरक्षाको भत्ता लिन पहिले भन्दा सास्ती खेप्नु परेको खेमप्रसाद दाहालले बताउनु भयो ।
‘सजिलो त पहिले नै थियो । घरमै भत्ता पाइन्थ्यो, वडा अध्यक्ष सचिवले घरमै ल्याएर दिन्थे । आजभोली त खै के हो बैङ्कमै पुग्नुपर्ने नियम लागू भो । हामीजस्तालाई गाहृो हुने भन्या ।’ दाहालले भन्नुभयो । उहाँले सदरमुकामस्थित ग्लोबल आइएमी बैङ्कबाट सामाजिक सुरक्षा भत्ता बुझ्दै आउनु भएको छ ।
खिजिदेम्बा गाउँपालिका–३ की ६६ वर्षीया मोहनकुमारी सुनुवार सामाजिक सुरक्षा भत्ता लिन ३ घण्टा हिँडेर खिजीफलाटेको मेघा बैङ्कमा पुग्नु पर्ने बाध्यता छ । सामाजिक सुरक्षाको भत्ता लिन बिहान झिसमिसेमा हिड्यो भने साँझ मात्र घर पुगिन्छ, पहिले सजिलो थियो, अहिले बैङ्कमा पुग्नै पर्ने बाध्यताले, अफ्ठ्यारो पारेको छ,सुनुवारले भन्नुभयो ।
सुनारले भन्नुभयो–बैङ्कसम्म पुगेर घर फर्किदा झमक्कै साँझ पर्छ । हिँडेर गयो, पुगेर लिएर आइहाल्न पाए त हुन्थ्यो नि । पालो कुर्दा हैरान हुन्छ । पहिले जस्तो घरमै पाए कति सजिलो हुन्थ्यो ।’
जिल्लाका अधिकांश ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता बैङ्किक प्रणालीबाट वितरण हुँदा समस्या भएको गुनासो गरेका छन् ।
सामाजिक सुरक्षा भत्ता लिन बैङ्कमा पुग्ने कतिपय ज्येष्ठ नागरिकले घण्टौ पालो कुर्नुपर्ने, बैङ्कका कर्मचारीको रूखो व्यवहार, बैङ्कसम्म पुग्न खर्चिलो र कष्टकर हुने ज्येष्ठ नागरिकहरूको गुनासो छ ।
कतिपय ज्येष्ठ नागरिकलाई बैङ्कमा भत्ता लिने कुरा सहजीकरण गरिदिने आफन्त नहुँदा निकै समस्या हुने गरेको छ । सरकारले सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता नहोस् र स्वयम् ज्येष्ठ नागरिककै हातमा भत्ता रकम पुगोस् भन्ने उद्देश्यले भत्ता वितरणमा बैङ्किक प्रणाली लागू गरेको छ । यसबाट धेरै हदसम्म अनियमिता हुने क्रम घट्ने भएपनि दुर्गम क्षेत्रका ज्येष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ता पाउन निकै सास्ती खेप्नु परेको छ ।
पाका समूह भएका ज्येष्ठ नागरिकहरूलाई बैङ्कसम्म पुग्न र पालो कुर्न समस्या भएको गुनासो आउने गरेको मोलुङ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्तोष गौतमले बताउनु भयो । उहाँले भन्नुभयो– ज्येष्ठ नागरिकहरूबाट बैङ्क पुग्न, पालो कुर्नुपर्ने विषयमा गुनासो आएको छ । सहजताका लागि बैङ्कसँग समन्वय भइरहेको छ ।
चम्पादेवी गाउँपालिका भित्रका ज्येष्ठ नागरिकलाई भौगोलिक विकटताका कारण सामाजिक सुरक्षा भत्ता लिन घोराखोरी जान सकस हुने गरेको गुनासो आएको गाउँपालिकाले जनाएको छ । भौगोलिक विकटताका कारण जिल्लाका प्रायः जसो स्थानीय तहमा रहेका बैङ्कसम्म पुग्न जेष्ठ नागरिकहरूलाई निकै सकस हुने गरेको पाइन्छ ।
लाभग्राहीलाई सहज रूपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने दायित्व स्थानीय सरकार भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।
विभागद्धारा जिल्लामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण महानिर्देशक तीर्थराज भट्टराईले भन्नुभयो– सामाजिक सुरक्षाको सहज वितरण गर्ने कार्य स्थानीय सरकारको हो ।
सामाजिक सुरक्षा वितरण प्रभावकारिता सम्वन्धी एक दिवसीय जिल्लास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा बैङ्किक प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुँदा सास्ती खेप्नु परेको ज्येष्ठ नागरिकको गुनासोको जवाफ दिँदै महानिर्देशक भट्टराईले भन्नुभयो– लाभग्राहीकै घरदैलोमा गएर भत्ता दिने व्यवस्था बैङ्क र स्थानीय सरकारको समन्वयमा हुन आवश्यक छ ।
सार्वजनिक सुनुवाईमा अधिकांशले खातामा भत्ता बापतको रकम आउने वित्तिकै निकाल्नु पर्ने वाध्यताले बैङ्कमा घुँइचो हुँदा समस्या भएको आवाज उठाएका थिए । जवाफमा सामाजिक सुरक्षा भत्ता खातामा राख्दा हुने बताउँदै विभागका निर्देशक युवराज कट्टेलले त्यसरी लाभग्राहीको खातामा रहेको रकम फिर्ता नहुने स्पष्ट पार्नु भएको थियो ।
९० वर्ष नाघेका र पूर्ण अशक्तका लागि स्थानीय सरकारले लाभग्राही रहेकै ठाउँमा पुगेर भत्ता वितरण गर्नुपर्ने नीति रहेको बताउँदै निर्देशक कट्टेलले भौगोलिक रूपमा टाढा र बैङ्कका पहुँचमा आउन समस्या भएकाहरूका लागि बैङ्क र स्थानीय निकायको व्यवस्थापनमा भत्ता वितरण शिविर स्थलगतका रूपमा सञ्चालन गर्न सकिने बताउनु भएको छ ।
सरस्वती बानिया
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले केपिलासगढी गाउँपालिका—४ वाक्सीलाका ६१ वर्षीय लाल थापा मागरलाई असार १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १३ गते यौन…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…