बैङ्कबाट सामाजिक सुरक्षा भत्ता बुझ्न सेवाग्रहीलाई सास्ती

  ०७९ साउन २३ गते

बैङ्कमा सामाजिक सुरक्षा भत्ता बुझ्न सेवाग्रहीले सास्ती व्यहोर्नु परेको छ । रोल्पाको सुनछहरी गाउँपालिकामा रहेको नेपाल एस बी आई बैङ्कमा सामाजिक सुरक्षा भत्ता बुझ्नेको भीड लाग्ने गरेकाे छ ।

जिल्ला सदरमुकाम लिवाङदेखि करिब ४८ वर्ग किलोमिटर उत्तर पुर्वमा पर्ने सुनछहरी गाउँपालिका क्षेत्रफलको हिसाबले जिल्लाकै सबैभन्दा ठुलो स्थानीय तह हो ।

उक्त गाउँपालिकामा सात ओटा वडाहरु रहेका छन् । भौगोलि हिसाबले अधिकांश वडाबाट गाउँपालिकासम्म आउन झण्डै एक देखि दुई दिनसम्म लाग्ने गर्छ ।

स्थानीय सरकार स्थापनासँगै नेपाल सरकारबाट प्राप्त हुने विभिन्न खाले सामाजिक सुरक्षा भत्ताहरू बैङ्किङ प्रणालीबाट भुक्तानी गर्ने गरिएको छ ।

जस अनुसार सुनछहरी गाउँपालिकामा रहेको नेपाल एस बी आई बैङ्कबाट सामाजिक सुरक्षा भत्ता वितरण हुँदै आएको छ । गाउँपालिकामा रहेको बैङ्कमा सामाजिक भत्ता बुझ्नेको भीड लाग्ने गरेको छ ।

सामाजिक सुरक्षा भत्ताकै निम्ति वर्षायामको कष्टपूर्ण लामो बाटो हिडेर बैंकसम्म आएका सेहाग्राहीहरुले बैङ्कमा हुने लामो भीडका कारण हैरानी खेप्नु पर्छ भने लामो समय पालो पर्खनुपर्ने बाध्यता रहेको सुनछहरी गाउँपालिका–३ का ज्येष्ठ नागरिक ७६ वर्षीय पन्थलाल घर्तीले गुनासो गर्नु भयो ।

समयमा काम नबन्दा वर्षायामको चिप्लो बाटो जुकाको टोकाई सहदै उकाली ओराली झर्नुपर्दा बाटोमै रात पर्छ र बाटोमै बास बस्नु पर्ने बाध्यता रहेको सुनछहरी गाउँपालिका– २ भित्रीगाम घोवाखोलाका ज्येष्ठ नागरिक पुर्णसिंङ बुढाले बताउनु भयो । उहाँ वृद्ध भत्ता बुझ्न कै निम्ति बैंक आउनु भएको हो ।

बर्खा यामको समयमा यातायातको असुविधा, बैङ्कको लामो भीड, लामो समयको पैदल यात्रा र बाढी पहिरोको जोखिम समेत हुने हुँदा वृद्ध वृद्धा तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सास्ती हुने गरेको बुढाले बताउनु भयो । कतिपयको त समयमै काम नबन्दा होटेलमा बस्नु पर्ने बाध्यता रहेको स्थानीय बुढाको भनाई रहेको छ ।

बर्खा यामको समयमा यातायातको असुविधा, बैङ्कको लामो भिडका कारण ढिलाई हुने र भत्ता बुझेर सुरक्षित घरमा पुर्‍याउन समेत जोखिम हुन्छ । पैदल यात्रा गर्नु पर्दा  लुट्ने होकी  भन्नेडर समेत हुने गरेको सुनछहरी गाउँपालिका–४ का ज्येष्ठ नागरिक प्रेम घर्तीले बताउनु भयो ।

नेपाल एस बी आई बैङ्कका प्रमुख सन्तोष दुवेदीका अनुसार भत्ता वितरणको समयमा सबैजना एकैपटक सामाजिक सुरक्षा भत्ता बुझ्न आउने हुँदा भीड हुने गरेको बताउनु भयो । भौगोेलिक अवस्था र मौसमले गर्दा सबैजना सामाजिक सुरक्षा भत्ता लिन नआएको बताउँदै यसपटक धेरै भीड नभएको बताउनु भयो ।

यस विषयमा गाउँपालिकामा छलफल भइरहेको र कार्यविधि बनाएर  बैङ्कका कर्मचारीहरूलाई वडाहरूमा घुम्ती टोली पठाएर समामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष धनबहादुर पुन मगरले बताउनु भयो ।


तिलक घर्ती मगर