बेसहाराको सहारा बन्यो गिट्टी कुट्ने व्यवसाय !

उमेरले डाँडापारीको घाम भएकी बृद्धा सधैँजसो बिहानैदेखि सडक किनारमा गिट्टी कुटिरहेकी देखिन्छिन् । बिहानैको चिसो सिरेटोदेखि दिउँसोको चर्को घाममा समेत गिट्टी कुट्नुपर्ने उनको नियति नै बनेको छ । जीवनयापनका लागि सहारा दिने कोही नहुँदा बृद्ध अवस्थामा समेत आफैँले गिट्टी कुटेर दैनिकी निर्वाह गर्नुपर्ने उनको नियती बनेको छ । दुई वर्षअघि आफ्ना पतिको मृत्यु भएपछि एक्लो बनेकी मुसिकोट नपा–५ रूकुम पश्चिमकी ७५ वर्षीया विष्णु नेपालीले सडकमा ढुङ्गा बटुल्दै गिट्टी कुटेर बिहान बेलुकाको छाक टार्ने गरेकी हुन् ।

अलि अलि भएको सम्पत्ति समेत पतिले बेचेर खाएकोले बुढेसकालमा समस्या भोग्नुपरेको उनको भनाई छ । दुई छोरा र एक छोरीकी आमा भएपनि छोराछोरी सबै भारतमा बसोबास गर्दै आएका छन् । ‘छोराछोरी भएर पनि के गर्नु र ?’ उनले भनिन्,–‘बुढेसकालमा कसैको सहारा नपाउँदा यस्तो दुःख पाएकी छु ।’ गिट्टी कुटेर कमाएको पैसाले दाल, चामल, तरकारी र एकसरो कपडा जोहो गर्दा ठिकै हुने उनको भनाई छ ।

बास बस्नका लागि आफन्तले घरमा एउटा कोठा दिएको विष्णुले बताइन् । महिनाभर कुटेको गिट्टीले एक ट्याक्टर भरिने र ४ हजार रुपियाँ आम्दानी हुने विष्णु बताउँछिन् । शरीरले नसकेपनि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म गिट्टी कुट्नुपर्ने बाध्यता छ । उमेरका कारण पनि अरू कुनै काम गर्न नसक्ने अवस्थाकी विष्णुलाई बजारमा भवन निर्माणका लागि चाहिने गिट्टी कुट्ने काम एकमात्र विकल्प बनेको छ ।

उसो त उनीजस्तै गिट्टी कुटेर दैनिकी चलाउने महिला सो स्थानमा अरूपनि छन् । पति विदेश गएका, पतिले दोस्रो विवाह गरेका, परिवारको रेखदेखबाट टाढा भएका महिलाले यो पेशालाई अँगालेका छन् । शरीरमा बल भए गिट्टी कुटेर राम्रो आम्दानी समेत गर्ने गरेको मुसिकोट नपा–१ की बसन्ती परियारले बताइन् ।

३१ वर्षीया बसन्ती गिट्टी कुटेर मासिक ८ हजार रुपियाँ आम्दानी गर्ने गरेको बताउँछिन् । ‘पति विदेश गएपनि गिट्टी कुटेर घरखर्च आफैँले चलाउने गरेकी छु ।’–उनले भनिन्–‘पतिको कमाई पनि राम्रो छैन, ऋण तिर्न भ्याईनभ्याई छ ।’ उनीहरूले तयार पारेको गिट्टी मुसिकोट खलङ्गा बजारमा हुने भवन तथा सडक निर्माणको काममा विक्री हुने गरेको छ । ट्याक्टरको हिसाबले भन्दा कठ्ठाको हिसाबमा बिक्री गर्दा बढी मूल्य पाइने भएपनि पछिल्लो समय ट्याक्टरबाटै हिसाब गर्दा आम्दानी पनि घटेको परियार बताउँछिन् ।

पछिल्लो समयमा जिल्लामा पक्की भवन, सडकको स्तरोन्नति, विद्यालयका भवन जस्ता पूर्वाधार निर्माणका काम बढेपछि गिट्टीको मागसमेत बढेको छ । ठूला सडक आयोजनाका लागि क्रसर उद्योगहरू भएपनि साना तथा मझौला आयोजना निर्माणका लागि यसरी नै फुटकर रूपमा गिट्टी किन्ने गरिन्छ । स्थानीय स्तरमा हुने आयोजनाहरूको छेउछाउमा फुर्सदमा भएका युवायुवती, विद्यार्थीहरू समेत बिदाको दिनमा अभिभावकसँग गिट्टी कुट्न जाने गरेका छन् ।

बालबालिकाहरू कतिपय बाध्यताले त केही भने रहरले गिट्टी कुट्ने गरेको आठबिसकोट नपा–९ का केदार शाहले बताए । आफूले रहर गरेको सामान किन्न बिदाको दिन आमासँगै गिट्टी कुट्न आएको त्रिवेणी गाउँपालिका–२ की सुमित्रा बुढाथोकीले बताइन् । त्रिवेणी गाउँपालिका–२ सिम्रुतुमा अहिले क्याम्पसको भवन निर्माण, जलविद्युत आयोजना लगायतका योजनाका लागि गिट्टीको माग बढेपछि यो ब्यवसाय गर्ने महिला तथा बालबालिकाको सङ्ख्या बढेको छ ।


मनिषा केसी