बेपत्ता बालकको शव फेला, हत्या भएको परिवारको दावी

चार दिनदेखि बेपत्ता इटहरी उपमहानगरपालिका-११ का १६ वर्षीय बालक इन्ताज खानको शव असोज १६ गते फेला परेपछि बालकको हत्या भएको भन्दै उनको परिवारले निश्पक्ष छानबिनको माग गरेको छ ।

असोज १२ गते साँझबाट हराएका खानको खनारस्थित बुढीखोला किनारको धानखेतमा अनुहार र शरीर ढडेर कालो भएको अवस्थामा १६ गते बिहान शव फेला परेपछि पीडित पक्षले हत्या भएको दावी गरेको हो ।

मृतक बालकको शरीर पुरै जलेको र अनुहारमा धारिलो हतियारले काटिएको जस्तो देखिएकाले मृत्यु नभई हत्या भएको मृतकका काका मोहम्मद रसुलले बताए ।

शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएपनि पोष्टमार्टम रिपोर्टपछि मात्र हत्या वा मृत्यु के हो भन्न सकिने सुनसरीका डिएसपी ज्ञानेन्द्रप्रसाद फुयालले बताए ।

शवको पोष्टमार्टम असोज १६ गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएपनि रिपोर्ट नआएकाले यसै केही भन्न सक्ने अवस्था नरहेको इलाका प्रहरी कार्यालयका डिएसपी शिव श्रेष्ठले बताए ।

घटनामा संलग्न हुन सक्ने आशङ्का प्रहरीले मृतक खानकै चार जना साथीलाई नियन्त्रणमा लिई असोज १६ गते आवश्यक अनुसन्धानपछि छाडिदिएको छ । पीडित पक्षले भने यथाशीघ्र छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ ।


जयकृष्ण यादव