बेपत्ता पारिएका व्यक्तिका परिवारको गुनासोः सरकारले हाम्रो वास्ता नै गरेन, हामीले न्याय पाएनौँ

  ०८० कात्तिक २६ गते

रामेछापको सुनापति गाउँपालिका-३, हिलदेवीका राजकुमार थापा मगर बेपत्ता हुनुभएको २० वर्ष भयो । २० वर्ष बित्दा पनि उहाँको कुनै पत्तो लाग्न सकेको छैन ।

माओवादी पार्टीमा २०५९ सालबाट लाग्नुभएका मगरलाई २०६० सालमा सुरक्षाकर्मीले सिन्धुपाल्चोकको पिस्करबाट गिरफ्तार गरेको थियो । हातहतियार तथा खरखजाना मुद्दामा १० महिना जेल सजाय सुनाइएका मगरलाई सिन्धुपाल्चोक कारागारमा राखिएको थियो । कारागारबाट उहाँ छुट्नु भएन । राज्यले त्यहीँबाट बेपत्ता बनायो ।

उहाँका बुबा मानबहादुर मगरले २०६१ सालको जेठ महिनामा छोरालाई कारागारमा भेट्नु भयो । त्यसपछि पुनः मङ्सिर महिनामा गएर छोरालाई भेटेर फर्कनु भयो । ‘द्वन्द्व अझ चर्कँदै गएपछि भेट्न जान सकिएन, शान्ति सम्झौतापछि बुझ्दा जेलबाट छुटिसक्यो भने तर छोरो फर्किएर आएन’, मानबहादुरले भन्नुभयो ।

राजकुमारका बुबा आमालाई अब छोरो फर्केला भन्ने आस मरिसक्यो । ‘अब फर्केला भन्ने आस छैन, तै पनि आमाको मन हो लास पनि त देखेको छैन, छोराको न लास पाइयो, न सास नै आयो’, राजकुमारकी आमा धनकुमारी मगरले भन्नुभयो ।

देश शान्ति प्रक्रियामा गएपछि बेपत्ता पारिएकाहरूको खोजी होला, सहिद परिवारको सम्मान होला भन्ने विश्वास मानबहादुर र धनकुमारीलाई थियो । तर त्यो केही नभएकोमा उहाँहरूको दुखेसो छ । ‘राज्यले जम्मा १० लाख रुपियाँ दियो, त्यसपछि केही खोजी गर्दैन, हाम्रा सन्तानको रगतको मूल्य १० लाख जस्तो पो भयो’, मानबहादुरले भन्नुभयो ।

छोरा बेपत्ता भएपछि धनकुमारीलाई सम्हालिन निक्कै गारो भयो । मानसिक तनावको कारण उपचार नै गर्नु पर्ने गरी उहाँ डिप्रेसनमा जानुभयो । लामो समयसम्म काउन्सिलिङ नै गर्नु पर्‍यो । अहिले पनि उहाँको मनमा शान्ति छैन । ‘१८ वर्षको छोरो बेपत्ता पारियो, मरे बाँचेको केही खबर छैन, मरेकै भए पनि मारियो भनिदिए एउटै शोक हुन्थ्यो, मरे बाँचेको केही पत्तो छैन, आमाको मन कसरी मान्ला’, उहाँले भन्नुभयो ।

आफूले बेपत्ता पारिएकाहरूको छानबिन आयोगमा उजुरी गरेको भए पनि त्यसको कुनै सुनुवाइ नभएको गुनासो मानबहादुरले गर्नुभयो । ‘त्यतिखेर प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्थ्यो, त्यसैले घटनाको जिम्मा उहाँले नै लिनु पर्छ भनेर उहाँको विरुद्ध उजुरी हालियो, अहिले माओवादी अध्यक्ष र देउवा मिलेर एक ठाउँमा बस्नु भएको छ, हाम्रो कुरा सुनवाइ हुँदैन, जुन पार्टीमा लागेर लड्यो, त्यही पार्टी सरकारमा हुँदा त हेरेन, अब हामीले के न्याय पाउँला र’, उहाँले भन्नुभयो ।

सरकारले भन्दा मानव अधिकारको लागि काम गर्ने संस्थाहरूले बेला बेलामा खोजी गर्ने गरेको मगरको भनाई छ । ‘बरु संस्थाका मान्छेहरू आउनुहुन्छ, भेट्नु हुन्छ, दुःख सुखका कुरा गर्नुहुन्छ, आफ्नै पार्टीका नेताहरू भेट पनि नहोस् जस्तो पो गर्नुहुन्छ, सरकारले त हामीलाई पुरै बेवास्ता गरेको छ’, मगरले भन्नुभयो ।


नवराज घिमिरे