बेपत्ता पारिएका परिवारका सदस्यलाई परिचयपत्र वितरण गरिने

  ०७७ फागुन २९ गते

०५२ फागुन १ गतेदेखि २०६३ मङ्सिर ५ गतेसम्म सशस्त्र द्वन्द्वको समयमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचयपत्र वितरण गरिने भएको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको आयोजनामा फागुन २८ गते जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष युवराज सुवेदीले परिचयपत्र वितरण गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा अध्यक्ष सुवेदीले भन्नुभयो “हामीसँग बेपत्ता भएका व्यक्तिको विवरण छ । दल, जनप्रतिनिधि, कर्मचारी, बेपत्ताका परिवार र स्थानीयसँग समन्वय गरेर परिचयपत्र वितरण गर्छौ ।”

सशस्त्र द्वन्द्वको सयमया ताप्जेजुङबाट १९ जना बेपत्ता भएको उजुरी आयोगमा परेको थियो । जसमध्ये एक जनाको लगत कट्टा भएको अध्यक्ष सुवेदीले बताउनु भयो ।

बेपत्ता पारिएका व्यक्तिका परिवारका सदस्य समेत सहभागी कार्यक्रममा बेपत्ताको कि लास कि सास उपलब्ध गराउने काम राज्यको भएको अध्यक्ष सुवेदीले बताउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद बलबहादुर साम्सोहाङले सशस्त्र द्घन्द्घका समयमा बेपत्ता भएका परिवारलाई परिचयपत्र वा राहत दिने काम तत्काल टुङ्ग्याउनु पर्ने बताउनु भयो ।

आयोगका सचिव कृष्णजीवी घिमिरेले परिचयपत्र वितरण बर्दियाबाट परराष्ट मन्त्री प्रदीप ज्ञवालीले वितरण गरेर सुरू गरेको बताउनु भयो ।

बर्दियामा ६ जना बेपत्ता भएका नागरिकका परिवारका सदस्यलाई परिचयपत्र वितरण गरिएको अध्यक्ष सुवेदीले बताउनुभयो ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले आयोगको टोलीले जिल्ला प्रशासन कार्यालयमै बसेर आवश्यक कागजात जुटाएर परिचयपत्र वितरण गर्ने तयारी गरेको बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिको बसोबास भएको ठेगानासँग सम्बन्धित वडाध्यक्ष र सुरक्षा निकाय र सरोकारवालालाई विस्तृत जानकारी गराएकाले सोही बमोजिम कागजात ल्याए लगत्तै परिचयपत्र वितरण आयोगले जनाएको छ ।

कार्यक्रममा फुङलिङ नगरपालिका–९ हाङदेवाका बेपत्ता पदमबहादुर लिम्बूका दाजु धर्मराज लिम्बूले सशस्त्र द्वन्द्व टुङ्गिएको १४ वर्षसम्म पनि कुनै टुङ्गो नभएको गुनासो गर्नुभयो ।

उहाँले भाई २०५५ सालमा झापा जाने भनि हिडेको तर आजसम्म सम्पर्कमा नभएको बताउनु भयो । उहाँले आयोग समक्ष हामीले कहिलेसम्म प्रश्न सोध्नुपर्ने ?” भन्दै गुनासो गर्नुभयो ।

आयोगको तथ्याङ्क अनुसार प्रदेश १ मा ३ सय ७ ओटा उजुरी परेको छ ।

ताप्लेजुङका साविकका विभिन्न गाविसका १९ जनाको नामावली बेपत्ताको सूचीमा समावेश गरिएको छ ।

साविकको तिरिङे गाविस–७ का अमृतकुमार इजम, इखाबु–९ का आइतबहादुर विक, फक्ताङलुङ गाउँपालिका–३ का उमनाथ लिम्बु, थुम्बेदिन–१ का ओमनाथ अधिकारी, खेवाङ–५ का काजीमान सार्की(अरुण), फुङलिङ नगरपालिका–२ का काशीनाथ गौतम, फुङलिङ नगरपालिका–७ का टङ्क पालुङवा र डिल्लीराम चापागाई रहेका छन् ।

त्यसैगरी साविक खोक्लिङ–५ का नारायणप्रसाद थापा, फुङलिङ नगरपालिका–९ का पदमबहादुर मादेन, फुलबारी–३ का प्रकाश शेर्पा, साँघु–८ का प्रकाश दर्जी, सुरुमखिम–४ का भेषराज लिम्बु र वडा–७ का मनकुमारी राई (दिव्या), फुङलिङ नगरपालिका–१ का राजेन्द्र गुरुङ, फुङलिङ नगरपालिका–२ का लाक्पा नुर्बु शेर्पा, हाङ्देवा–६ का लोकनाथ गौतम, फुङलिङ नगरपालिका–८ का सनबहादुर कामी र लिङ्तेप–१ का सानुसागर शेर्पा छन् ।

मिक्वाखोला गाउँपालिका–१ का निलकुमार थापाको नाम बेपत्ताको सूचीमा पाइएकाले सम्पर्क गर्दा उनी सुर्खेतमा व्यवसाय गरेको र आफू बेपत्ता नभएको आयोगलाई जानकारी गराएपछि उनको लगत कट्टा गरेको आयोगले जनाएको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानविन,सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन,२०७१ सोही साल वैशाख २८ गते जारी भई २०७१ माघ २७ गते गठन भएको आयोगले द्वन्द्वको समयअवधिमा भएका घटनासँग सम्बन्धित विषयमा कार्य सम्पादन गर्दै आएको छ ।Photo 20210313 Taplejung


देवराज गुरुङ