बेपत्ता परिवारलाई घरैमा पुगेर सम्मान

बलपूर्वक बेपत्ता बनाउने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा इन्सेक, मानव अधिकार सञ्जाललगायत अधिकारका क्षेत्रमा क्रियाशील सङ्घसंस्थाहरूले भदौ १४ गते बेपत्ता पारिएका परिवारलाई घरैमा पुगेर सम्मान गरेका छन् ।

आफन्त गुमाएर वर्षौदेखि पीडामा रहेका परिवारलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन र पीडित परिवारलाई सम्मानको वातावरण सिर्जना गर्न घोराही नपा-२ पचुर्खामा बेपत्ता बनाइएका दुई परिवारका सात जनालाई टिका, खादा लगाएर सम्मान गरिएको मानव अधिकार सञ्जाल दाङका संयोजक केशवकुमार शर्माले बताए ।

सम्मानित हुनेहरूमा घोराही नपा-२ का बेपत्ता वृजु चौधरीकी पत्नी ३५ वर्षीया कृष्णी चौधरी, ६० वर्षीया आमा जीउनी चौधरी, ६५ वर्षीय बुवा लबरू चौधरी, छोरा राजिव र छोरी पार्वती चौधरीलाई सम्मान गरिएको थियो ।

यसैगरी सोही नपा-३ ओखराकी बेपत्ता नागरिक रामकली चौधरीका ४५ वर्षीया आमा तुलसा चौधरी र ५५ वर्षीय बुवा रामप्रसाद चौधरीलाई सम्मान गरिएको छ ।

सम्मान कार्यक्रममा बोल्दै बेपत्ता नागरिकका परिवारले छिटो भन्दा छिटो बेपत्ता आफन्तको अवस्था सार्वजनिक गर्न सरकारसँग माग गरे । पहिलो कुरा हाम्रो मान्छे कहाँ छ ? भन्ने जानकारी होस वृजुकी पत्नी कृष्णीले भनिन्- त्यसपछि हाम्रा बालबच्चाको लालनपालन, पठनपाठनको व्यवस्थापनि सरकारले गरोस ।

पीडितहरूले भने 'त्यतिबेलाको विद्रोहीसमेत सरकारमा रहेकाले छिटो न्याय दिनु पर्छ ।' सो अवसरमा बोल्दै नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सुदीप गौतमले सशस्त्र द्वन्द्व सकिएको पनि वर्षौ वितिसक्दा द्वन्द्वका समयमा बेपत्ता बनाइएका नागरिकको अवस्थाका सम्बन्धमा राज्य बेखवर हुनु लाजमर्दो भएको भन्दै छिटो बेपत्ता नागरिकको अवस्था खोजबिनमा लाग्न आग्रह गरे ।

कार्यक्रममा बेपत्ता नागरिकका दुई बालबालिकालाई शैक्षिक सामग्रीसमेत हस्तान्तरण गरिएको थियो । वृजुका नौ कक्षामा पढ्ने पार्वती र ४ कक्षामा पढ्ने राजिवलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।

इन्सेकको तथ्याङ्क अनुसार दाङमा ७२ जना, शान्ति समितिले राहतका लागि शान्ति मन्त्रालयमा सिफारिस गरेका १ सय १३ जना र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा १ सय २९ जना बेपत्ताका परिवारले उजुरी दिएका छन् ।


जे.एन.सागर