बेपत्ता पतिको खोजी गरिदिन पत्रकार र अधिकारकर्मीसँग आग्रह

विगत दुई महिनादेखि बेपत्ता भएका चानुवा गाविस-१ का ४५ वर्षीय भिमबहादुर चापागाईंको खोजी गरिदिन उनकी पत्नी कल्पना चापागाईँले मानव अधिकारकर्मी र पत्रकारसमक्ष आग्रह गरेकी छन् ।

गएको जेठ १८ गते मलामी गएका भीमबहादुर घर नफर्किएपछि उनले साउन ३० गते पत्रकार सम्मेलन गरी खोजीको लागी पत्रकार र मानव अधिकारकर्मीसँग यस्तो आग्रह गरेकी हुन् ।

स्थानीय विरेन्द्र प्राथमिक विद्यालयमा कार्यरत शिक्षकसमेत रहेका चापागार्इं भतिज रेशम चापागाईंको अन्त्योष्टिका जेठ १८ गते अरुण नदीको बेलटार घाट गएका थिए ।

मलामी गएर राति अबरेसम्म घर नआएको र भोलिपल्ट दिउँसोसम्म पनि घर नफर्किएपछि उनको खोजी कार्य शुरु गरिएको पत्नी कल्पनाले बताइन् ।

बेपत्ता पतिको खोजीका लागि जेठ १९ गते नै इलाका प्रहरी चौकी चानुवामा उजुरी दिएपनि प्रहरीले बेवास्ता गरेको उनले गुनासो गरिन् ।

इलाका प्रहरी चौकीले खोजी कार्यमा बेवास्ता गरेपछि घटनाको तीन दिनपछि जिल्ला प्रहरी कार्यालय धनकुटामा आफूलाई शङ्का लागेको व्यक्तिहरूको नामसहित किटानी जाहेरी दिएकी थिइन् । तर, किटानी जाहेरी लिन प्रहरीले अस्वीकार गरेको उनले गुनासो गरिन् ।

उनले पत्रकार सम्मेलनमा केही आफन्तहरूबाट नै पतिलाई बेपत्ता बनाइएको आरोप लगाएकी छन् । गहभरी आँसु पार्दै कल्पनाले भनिन्-'पति बेपत्ता भएपछि प्रहरीमा निवेदन दिएँ । प्रहरीले केही गरेको छैन । अहिले घरमा बस्न असुरक्षित महसुस भएपछि बालबच्चा सहित डेरा खोजी सदरमुकाममा बस्दै आएकी छु ।'

सो घटनाको कारण घरमा बस्ने वातावरण नभएपछि अब अन्यत्र बसाई सर्नुपर्ने अवस्था आएको भीमबहादुरका बावु मकरबहादुर चापागाईले बताए ।

बेपत्ता चापागार्इंका दुई छोरी र एक छोरा रहेका छन् । दुई महिना बित्तिसक्दा सम्म घटनाको सत्यतथ्य विवरण पत्ता लगाई प्रहरीले सार्वजनिक नगरेकाले आफूले न्याय नपाउने देखेर न्यायको लागि पहल गरिदिन पत्रकार तथा मानव अधिकारकर्मीसँग आग्रह गरिन् ।

उक्त घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयका एसपी विभूतिराज पाण्डेसँग सम्पर्क गर्दा उनले भने-'अहिलेसम्मको अनुसन्धानमा कसैले बेपत्ता पारेको वा हत्या गरेको भन्ने खुल्न नआएकोले मादक पदार्थ सेवन गरेको कारण नदीमा बगेर बेपत्ता भएको हुनसक्छ ।'

घटनामा संलग्न भएको शङ्का गरिएका व्यक्तिहरूसँग बयान लिने, घटनास्थल आसपासको क्षेत्रमा गोप्य अनुसन्धान गर्ने कार्य भने जारी रहेको एसपी पाण्डेले बताए ।


सन्तोष रुचाल