बेपत्ता आयोगको कार्यशैलीप्रति द्वन्द्व पीडित असन्तुष्ट

  ०७४ भदौ १४ गते

बलपूर्वक बेपत्ता बनाउने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गुलरियामा भदौ १४ गते आयोजित कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिका परिवारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको कार्यशैलीले आफूहरू निराश भएको बताएका छन् ।

आयोगले पाएको जिम्मेवारी सुरूबाट नै गर्न नसकेको र पछिल्लो पटक पाएको थप समय पनि केही नगरी बिताउन थालेको गुनासो पीडित तथा सरोकारवालाले गरेका छन् ।

द्वन्द्वको समयमा राज्य पक्षबाट पति बेपत्ता पारिएकी राजापुर नपा-११ की रवीना चौधरीले भनिन्-'आयोगले पीडित परिवारको उजुरी लिइसकेपछि गाउँघरमै आएर अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाई सार्वजनिक गरी न्याय र परिपुरण दिने कुरा गरेको थियो । खै ! अहिलेसम्म केही पनि भएको छैन । यसले हामीलाई निराशा बनाएको छ ।'

कार्यक्रमका सहभागीहरूले सरकारले पीडित परिवारलाई १० लाख रुपियाँ राहत दिएर अन्य न्यायको बाटोबाट पन्छाउन खाजेको आरोप पनि लगाए । राजनीतिक सहमतिको नाममा पीडितलाई न्याय र दोषीलाई कानुनी कारबाहीको दायरामा नल्याउन चलखेल भइरहेको आरोप लगाउँदै सरोकारवालाले त्यसो हुन नदिन पीडित परिवार चनाखो रहेको बताएए ।

सो अवसरमा बोल्दै अधिवक्ता गोविन्द बन्दीले आयोगको कार्य सम्पादनको मुल्याङ्कन गर्ने बेला भइसकेको र यदि पीडितले सोचे जस्तो काम भइरहेको भए स्वागत गर्दै त्यसलाई अझ राम्रो र व्यवस्थित गर्न सहयोग गर्नु पर्नेमा जोड दिए । तर, त्यसो भइरहेको छैन भने आयोगले काम गर्न नसक्ने भन्दै अर्को विकल्पतर्फलाग्नको लागि तयारी गर्न आवश्यक रहेको बताए ।

द्वन्द्व पीडित समिति बर्दियाका अध्यक्ष भागिराम चौधरीले आयोगको अहिलेसम्मको कार्यसम्पादन मुल्याङ्कन गर्दै पीडितहरूको न्यायका लागि आवाज उठाउन सहयोग गर्ने सबै सरोकारवालाहरूको सुझाव लिएर वकालतका लागि योजना बनाइ अघि बढ्ने बताए ।

बर्दिया जिल्लाबाट बेपत्ता पारिएका व्यक्तिको आयोगमा २ सय ६६ जना पीडितका परिवारले उजुरी दिएका छन् ।

कार्यक्रम द्वन्द्व पीडित समिति, नागरिक समाज सञ्जाल, इन्सेक, आइसीटिजे, नेपाल रेडक्रस, बर्दिया बार एसोशिएसन एकाई, कर्मशील नेपाललगायत संस्थाको आयोजनामा गरिएको थियो । दिवसका अवसरमा गुलरियामा र्‍यालीसमेत प्रदर्शन गरिएको थियो ।


मानबहादुर चौधरी