बेपत्ताको खोजीका लागि स्थानीय तहसँग समन्वय गर्न आयोगलाई सुझाव

नेपालको १० वर्षे द्वन्द्वको क्रममा बलपुर्वक बेपत्ता पारिएका मकवानपुरका २५ जनाको हालसम्म पनि पत्ता लाग्न नसकेको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले जनाएको छ ।

जिल्ला अदालत मकवानपुरमा मङ्सिर १६ गते आयोगले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बेपत्ता पारिएको दुई दशकभन्दा धेरै भइसक्दा पनि उनीहरूको पत्ता लाग्न नसकेको आयोगले जनाएको हो ।

२०५२ सालदेखि सुरू भएको सशस्त्र द्वन्द्वको क्रममा विभिन्न समयमा जिल्लाका २५ जना बेपत्ता पारिएको र उनीहरूको खोजी कार्य जारी रहेको आयोगको भनाइ छ ।

अनुसन्धान कार्यको लागि सरोकारवालासँग आवश्यक छलफलको आयोजना गरेको आयोगले १८ जना मकवानपुरबाटै, चार जना काठमाडौँबाट, एक जना बारा र एकजना सिन्धुपाल्चोकबाट बेपत्ता पारिएको तथ्याङ्क रहेको आयोगका सचिव कृष्णजीवि घिमीरेले बताउनुभयो ।

आयोगको तथ्याङ्क अनुसार बेपत्ता पारिएकाहरूमा पदमपोखरीका कृष्णहरि थिङ लामा, हेटौँडाका दानबहादुर कुँवर, गढीका बेदप्रसाद दुलाल, सुकौराका रामशरण हुमागाँई, हेटौँडाका हिमालय दुलाल, मनहरीका ज्ञानेन्द्र कालाखेती, भीमफेदीका सुरेन्द्र राना, हेटौँडाका बाबुकाजी बिष्ट र शेखरनाथ पौडेल, मकवानपुरगढीका दोषी भुलन र सन्तबहादुर वाइवा, गोगनेका रामबहादुर ब्लोन र हटियाका पदमबहादुर दर्नाल रहेका छन् ।

यस्तैगरी धियालका राजेन्द्र चौरेल, हटियाका अमृत दर्नाल, पदमपोखरीका सुकलाल थिङ, श्रीपुर छतिवनका नरबहादुर खत्री, नामटारका पूर्णबहादुर गोले, मकवानपुरगढीका भीमबहादुर तिमल्सिना, गोगनीका किरणबहादुर तामाङ, हेटौंडाका नोमनाथ लामिछाने, मनहरीका कृष्णबहादुर तामाङ, हेटौंडाका कृष्णबहादुर थापामगर, फापरबारीका सुकराम बिक र गोगनेका रामशरण भुलोन रहेका छन् ।

जिल्ला अदालत मकवानपुरका जिल्ला न्यायाधीश डिल्लीराज श्रेष्ठले तत्त्कालीन द्वन्द्वका पीडितहरूलाई छिटोभन्दाछिटो न्याय दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बेपत्ता पारिएका व्यक्तिको खोजबिन र छानबिनको लागि धेरै ढिला हुन गएको बताउनुभयो ।

द्वन्द्वका पीडित परिवारलाई राहत तथा क्षतिपुर्ति बापत दिएको रकमको पनि एकिन विवरणहरू हराउँदै गएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो–‘जिल्ला तहमा गठित शान्ति समिति पनि खारेज भएपछि उनीहरूको बारेमा एकीन विवरणहरू समेत हराउन थालेको छ ।’

इन्सेकका जिल्ला प्रतिनिधिले पुराना तथ्यहरू हराउँदै गएको भन्दै छिटोभन्दा छिटो अनुसन्धान कार्यलाई टुङ्ग्याउनुपर्ने बताउनुभयो ।

इन्सेकको तथ्याङ्क अनुसार मकवानपुर स्थायी ठेगाना भएका १२ जना व्यक्तिलाई बेपत्ता पारेको र आयोगले सार्वजनिक गरेको सङ्ख्यामा १० जना व्यक्तिहरूमात्र मिल्न गएको हुनाले अब तथ्याङ्कमा एकरूपता सँगै तथ्यगत छानविनको लागि स्थानीय तहसँग आयोगले समन्वय गर्नुपर्ने सुझाव दिनुभयो ।


पुष्पराज अधिकारी