बेपत्ताको अवस्था सार्वजनिक नहुँदा परिवारमा अन्यौल

  ०८१ कात्तिक १९ गते

'म अभागी रहेछु । जिन्दगीभर जसले हात समाएर साथ दिन्छु भन्दै लिएर आएको थियो, आज उही मेरो साथमा छैन । उ बिना म एक्ली भएकी छु । तर पनि फर्कि आउँछन् की भन्ने आश लाग्छ । हुन त घरमा धेरै जना छन् । तर पति भनेको पति हुने रहेछ' - यी भनाइ हुन् बारबर्दिया नगरपालिका–६ की ६८ वर्षीया फिरिया थारुको ।

अतितका दिनहरू सम्झदै थारु भन्नुहुन्छ - ‘देशमा भएको सशस्त्र युद्धमा राज्य र माओवादी बीचको युद्ध थियो । तर सो युद्धले मेरो परिवार भताभुङ्ग पार्‍यो । मेरो सपना भताभुङ्ग पार्‍यो । मेरो चाहना भताभुङ्ग पार्‍यो । मबाट युद्धले सबैथोक लुट्यो । मैले आड, मेरो भरोशा, मेरो बुढेशकालको साहारा युद्धले लुट्यो । मैले मेरो पति य युद्धको समयमा राज्यले बेपत्ता पार्‍यो ।’
त्यो काल रातको अझै पनि सम्झना छ, २०५९ साल साउन २६ गते बेलुका ९ बजे झरी परेको रात थियो । आफ्नो परिवार खाना खाएर सुतेको उहाँलाई याद छ । रम्मापुर ब्यारेकबाट आएका सेनाले घरमा आएर पति ४८ वर्षीय जंगु थारुलाई सेनाले लिएर गएको थारुले बताउनु भयो ।

भोलिपल्ट गाउँका केही व्यक्ति सहित पतिको बारेमा बुभ्न बारबर्दिया रहेको रम्मापुर ब्यारेकबाट बुभ्न जाँदा सेनाले पतिलाई नल्याएको दाबी गरेको थारुको भनाइ छ । त्यो समय बन्दुक थियो । त्यसकारण प्रतिबाद गर्न सक्ने सयम थिएन । चुपचाप घर फिर्ता हुनु परेको थारु बताउनु हुन्छ ।

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा बर्दियामा २ सय २० जना नागरिकहरू द्वन्द्वरत पक्षहरूबाट बेपत्ता भएको इन्सेकको अभिलेख छ । दुवै पक्षबाट बेपत्ता पारिएका नागरिकको अवस्था हालसम्म सार्वजनिक हुन सकेको छैन । सशस्त्र द्वन्द्वको समयमा फिरिया जस्तै पति बेपत्ता भएका कयौँ महिलाहरू पति आउने आशामा हुनुहुन्छ । उमेर क्रमश ढल्दैछ तर पति द्वन्द्वमा पति बेपत्ता पारिनु भएको पति फर्कि आउने आशमा हुनुहुन्छ फिरिया । उहाँ भन्नुहुन्छ - ‘पति दिनहरू कुर्दाकुर्दै कयौँ दिनहरू बिते । महिनाहरू बिते । वर्षहरू बिते । तर आफ्नो पति पक्कै आउनु हुनेछ भन्ने आशमा हुनुहुन्छ उहाँ । उहाँले अझसम्म पनि आश मार्नुभएको छैन । पति पक्कै आउनु हुनेछ भन्ने प्रतिक्षा गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

दाहसंस्कार गर्न हजुरआमा मान्नुहुन्न

बेपत्ता पारिएका थारुका नाति २७ वर्षीय सुमित थारु भन्नुहुन्छ - 'हजुरबुबाको पराम्परा अनुसार अन्तिम दाहसंस्कार गर्नुपर्छ भन्दा हजुर आमा मान्नुहुन । हजुरआमाले अझै पनि हजुरबुबा आउनुहुन्छ भनि बाटो पर्खिरहनु हुन्छ । हजुरबुबा बेपत्ता हुँदा सुमित ६ वर्षको हुनुहुन्थ्यो । सुमितको हजुरबुबा बेपत्ता भएको पनि २१ वर्ष पुरा भएर २२ वर्षमा लागेछ ।' हजुरबुवा बेपत्ता हुँदा खासै केही नबुझ्न सुमित अहिले धेरै कुरा बुभ्ने हुनुभएको छ । उहाँ भन्नुहुन्छ - ‘मेरो हजुरआमाले पति गुमाउनु भयो । मेरो बुबा काका र फुपुहरूले अभिभावक गुमाउनु भयो । मेरो परिवारले संरक्षक गुमाउनु पर्‍यो । मैले मेरो हजुरबुबा गुमाएँ । हाम्रो परिवारले खुसी गुमाए । सबथोक गुमाए । अब गुमाउन के नै बाँकी छ र ? युद्धले दिएको निको नहुने घाउ हो । जिन्दगीभर यस्तो घाउ लिएर बस्नु बाध्यता हाम्रो परिवारको रह्यो ।'

सामान्य किसान परिवारमा जन्मनु भएको जंगु थारुको दुई ओटा पत्नी हुनुहुन्छ । जेठी पत्नी फिरिया थारुबाट छोराहरू सर्जु प्रसाद थारु, राम प्रसाद थारु, घनश्याम थारु र छोरी सुभरानी थारु र अनरकली थारु तथा कान्छी पत्नी रामकुमारी थारुबाट छोरा बिनय थारु, छोरी सरिताको जन्म भएको थियो । बेपत्ता पारिएको जग्गुको परिवारले राज्यसँग परिवारले थारुको अवस्था सार्वजनिक हुनपर्छ भन्दै पटक पटक ‘कि सास देउ की लास देउ’ भनेर माग गर्दा पनि राज्यले कुने सुनुवाइ गर्न सकेको छैन ।

राज्यले बेपत्ता पारिएको हजुरबुबाको अवस्था तत्काल सार्वजनिक गर्नुपर्ने थारुको माग छ । उहाँ भन्नुहुन्छ – 'बेपत्ता पारिएको हजुरबुवाको अवस्था सार्वजनिक नहुदाँ हाम्रो परिवार वर्षौँदेखिको भोग्दै आएको शारीरिक र मानसिक यातना र पीडा भोग्दै आएको छ । हजुरबुबाको अवस्था सार्वजनिक हुन सकेको भए केही राहत हुने थियो । राज्यले बेपत्ताको अवस्था सार्वजनिक गरी बेपत्ता परिवारलाई पनि शहीद परिवारलाई जस्तै राज्यले सेवा सुविधा प्रधान गर्नुपर्छ ।’

राज्यले प्रदान गर्दै आएको एकल महिला भत्ताको सेवा सुविधाबाट समेत हजुरआमाहरू वञ्चित हुनुपरेको छ । पति बेपत्ता पारिएको महिलालाई राज्यले एकल महिलाको मान्यता दिएको छैन । राज्यले बेपत्ता परिवारलाई १० लाख सहयोग गरेको छ । तर १० लाखले बेपत्ता परिवारलाई केही सहयोग भयो । त्यसले मात्र पर्याप्त हुँदैन । सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको बेपत्ताको अवस्था सार्वजनिक गरिनु पर्ने कुरा रहेको थारुको धारण रहेको छ । सरकारले अहिले टिआरपसी विधेयक ल्याएको छ । सरकारले ल्याएको टिआरसी विधेयक के के छन् त्यो थाहा नभएपनि बेपत्ता परिवारको स्वास्थ्य, शिक्षा र रोजगारीको ज्ञारेन्टी राज्यले गर्नुपर्ने माग समेत थारुले गर्नुभयो ।

Photo04112024Bardiya


प्रकाश पौडेल