बेदखल गर्नेलाई कारबाही गर्न भूमिहीन किसानको माग

दाङका भूमिहीन किसानहरूले जोतभोग गर्दै आएको जमीनबाट बेदखल गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । भूमि अधिकारको माग गर्दै आएका उनीहरूले भूमिहीन किसानहरूलाई बेदखल गर्ने धम्की आउन थालेको भन्दै जिल्लाका भूमिहीन, सुकुमबासी बस्तीहरूमा एकहप्ते जागरणयात्रा समेत गरेका छन् । चैत ३० गते जागरण यात्राको घोराहीमा समापन गर्दै उनीहरूले भूमिहिन किसानहरूको वैकल्पिक व्यवस्था नहुदासम्म जमिनबाट वेदखल गर्न नपाइने समेत बताए ।

चैत २४ गते लमहीबाट सुरू गरेको जागरणयात्रा सदरमुकाम घोराहीमा ल्याएर समापन गर्नुअघि भूमिहीन, सुकुमबासीहरूले प्रदर्शन समेत गरे । प्रदर्शनकारीले 'भूमिहीन, सुकुमबासीलाई जग्गा दे, बेदखल गर्नेलाई कारबाही गर' लगायतका नारा लगाउँदै कर्मचारी मिलनकेन्द्रबाट सुरू भएको र्‍यालीले घोराही बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेर ४ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

दाङका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्रमा वर्षौँदेखि बसोबास तथा जोतभोग गर्दै आएको जग्गाबाट किसानलाई बेदखल गर्ने, ऐलानी जग्गा विक्री वितरण कार्य रोकिनुपर्ने, भूमाफियाबाट भइरहेको जमीन खण्डीकरण रोकिनुपर्ने, भुमिहीनहरूलाई उठिबास लगाउने धम्की दिनेलाई कारबाही गर्नुपर्ने, मोही बाँडफाडलाई सरल र सहज बनाउनुपर्ने, मोही वितरण गर्दा जग्गाधनीले रूचाएको व्यक्तिलाई मोहीयानी हक दिने भन्ने व्यवस्था ऐनबाटै हटाउनुपर्नेलगायतका माग राखेका छन् ।

भूमिहीन किसानहरूलाई भूमिअधिकारबारे जानकारी दिने, उनीहरूलाई आइपर्ने समस्या र धम्कीका सवालबारे गाउँगाउँमै पुगेर सचेत गराउने उद्देश्यले जागरण अभियान गरिएको जिल्ला भूमिअधिकार मञ्च दाङकी अध्यक्ष निर्मला बिकले जानकारी दिइन् । उनीहरूले सुकुमबासी आयोगलाई क्रियाशील बनाउनुपर्ने, आयोगमा दिइएका भूमिहीन, सुकुम्वासीहरूका निवेदनमाथि छानबिन गर्नुपर्नेलगायतका मागसमेत राखेका छन् ।


जे.एन.सागर