बेचविखनका लागि भारत लैजाँदै गरिएको आशङ्कमा तीन युवतीको उद्दार

बेचविखनका लागि भारत लैजाँदै गरिएको आशङ्कामा १९ वर्षीया, १८ वर्षीया र २१ वर्षीया तीन जना महिलालाई असोज ६ गते धनुषाको ढल्केबरबाट इलाका प्रहरी कार्यालय ढल्केवरले उद्दार गरेको छ ।

असोज ६ गते काठमाडौँबाट बसमा विराटनगर जाँदै गर्दा बसका सहचालकले ती युवतीहरूलाई बेचविखनका लागि ललाइफकाई लग्न लागेको शङ्का लागेपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि इलाका प्रहरी कार्यालय ढल्केवरले बस रोकेर चेकजाँच गरी तीन जना महिलालाई उद्दार गरिएको र उनीहरूलाई लग्न लागेको आरोपमा ३६ वर्षीया पवित्रा कोइरालालाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

आफूहरूलाई वैदेशिक रोजगारका लागि पठाई दिने भन्दै काठमाडौँ लगेर सानीमाले एजेण्ट सुभाष खड्कासँग भेटाएको पीडित मध्येका दुई जनाले आरोप लगाएका छन् ।

सोही क्रममा बस चढेर आउँदै गर्दा बाटोकै एक होटलमा खाना खान बस्दा पवित्रा कोइरालाले विदेशमा यौन हिंसा हुने गरेको बताउँदै आफूहरूलाई विराटनगरमै राम्रो काम लगाईदिने आश्वासन दिएको पनि उनीहरूले आरोप लगाएका छन् ।

उद्दार गरिएका तीनै जना महिला जिल्ला प्रहरी कार्यालय धनुषाको सेफ हाउसमा रहेको र उनीहरूको विषयमा थप अनुसन्धान भइरहेको धनुषाका डीएसपी मनोज यादवले जानकारी दिए ।


विनोदकुमार रविदास