बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७८ भदौ २७ गते

१६ वर्षीया बालिका र १९ वर्षीया युवतीलाई बेचबिखन गर्न लागेको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चैयाले सप्तरी जिल्ला कञ्चनरुप नपा–११ की २८ वर्षीया ललिता चौधरी र धनगढीमाई नपा–१ की ३५ वर्षीया उषादेवी मलाहलाई भदौ २५ गते गिरफ्तार गरेको छ ।

पीडितहरूलाई आरोपितहरूले लहानमा मासिक ५० हजार रुपियाँको काम लगाइदिने भनी प्रलोभनमा पारी ललाइफकाई लहानसम्म बोलाएको पीडित पक्षको आरोप छ ।

पीडितहरूका अनुसार लहानबाट जनकपुरमा अझ राम्रो काम पाइने भनी गाडीमा चढाएर लगेकोमा आरोपितहरूले बिच बाटोबाटै ओरालेका थिए ।

नेपाल भारत सिमानाको सिरहा माडरतर्फ जानका लागि चोहर्वामा गाडीको प्रतिक्षामा रहेको बेला प्रहरी टोलीले सोधपुछ गर्दा शङ्का लागेकाले प्रहरीले आरोपितहरूलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

सोही दिन पीडित परिवारसँग उजुरी लिएर कारवाही प्रकृया अगाडि बढाएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले बताउनु भयो ।


दुर्गा परियार