बेचबिखन घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बेचबिखन गरी भारतको बुम्बईमा पुर्‍याएको आरोपमा मेलम्ची नगरपालिका–६ तालामाराङका ५२ वर्षीय टाउटाउ तामाङलाई ०७७ असोज २५ गते साँझ प्रहरीले काठमाडौँको गोकणेश्वर नगरपालिका–५ मा रहेको डेराबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी तथा डिएसपी प्रकाश सापकोटाले बताउनु भयो ।

आरोपितले ०७२ चैत २३ गते भूकम्पबाट विस्थापित भएर टहरोमा बसेको अवस्थामा पीडितलाई राम्रो तलव सुबिधा सहितको काममा लगाईदिन्छु भनि प्रलोभन देखाएर बेचबिखन गरेको पीडितपक्षको आरोप छ ।

पीडितलाई भारतीय प्रहरीको सहयोगमा मानव बेचबिखन बिरुद्ध कार्यरत संस्था शक्ति समूहले ०७६ साउन ३ गते उद्धार गरी नेपाल फर्काएको शक्ति समूहकी अध्यक्ष चरिमाया तामाङले बताउनु भयो ।

शक्ति समूहको सहयोगमा आरोपित बिरुद्ध ०७६ भदौ ३ गते जिल्ला प्रहरी कार्यालय काठमाडौँमा उजुरी गरेको शक्ति समूहकी अध्यक्ष तामाङले बताउनु भयो ।

आरोपितलाई यस अघि पनि प्रहरीले पटक–पटक खोजी आरोपित पत्ता नलागेको मेलम्ची नगरपालिका–६ का वडा अध्यक्ष जीतराज थापाले बताउनु भयो ।

आरोपितलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले गिरफ्तार गरेको र काठमाडौँ जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयका डिएसपी सापकोटाले बताउनु भयो ।


नातिबावु धिताल