बेचबिखन गरेको कसुरमा ३२ वर्ष कैद सजायको फैसला

  ०८१ भदौ ८ गते

२६ वर्षीया र २९ वर्षीया महिलालाई भारतमा बिक्री गरी जबरजस्ती यौन कार्यमा लगाएको कसुरमा शिवपुरी गाउँपालिका–१ तलाखुकी ४० वर्षीया सोनाम भन्ने हेरिङ डोल्मा तामाङलाई नुवाकोट जिल्ला अदालतले मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती यौन कार्यमा लगाएको कसुरमा दोषी ठहर गरेको छ ।

न्यायाधीश शुभाषबाबु पुरीको इजलासले भदौ ६ गते डोल्मालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहर गर्दै २० वर्ष कैद सजायको फैसला सुनाएको हो । डोल्मालाई २० वर्ष कैद सजाय,  २ लाख रुपियाँ जरिबाना, पीडितलाई जनही १ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन र पीडित राहत कोषमा १० हजार ४ सय रुपियाँ दाखिला गराउनसमेत फैसला भएको भएको नुवाकोट जिल्ला अदालतकी श्रेस्तेदार खेमकुमारी बस्नेतले जानकारी दिनु भयो ।

पीडितलाई जबरजस्ती यौन कार्यमा लगाएको कसुरमा समेत अदालतले डोल्मालाई दोषी ठहर गरेको छ । सो कसुरमा १२ वर्ष कैद सजाय, ६० हजार रुपियाँ जरिबानाको फैसला भएको श्रेस्तेदार बस्नेतले जानकारी दिनु भयो ।

काभ्रेकी २६ वर्षीया महिलाले २०७३ वैशाख ३ गते ललाईफकाई भारतमा पुर्‍याउने सिन्धुपाल्चोक राम्चेका ३४ वर्षीय कुमार तामाङसँग भारु. ५ लाखमा भारतको मुनिरकास्थित जिवि रोडमा कोठी सञ्चालन गर्ने आरोपित डोल्माले चार महिना यौन कार्यमा जबरजस्ती लगाएको भन्ने उजुरीको आधारमा तामाङलाई ०७९ चैत २६ गते प्रहरीले गिरफ्तार गरेको थियो ।

यसअघि नुवाकोटकी २९ वर्षीया महिलाको उजुरीमा पनि डोल्मा प्रतिवादी रहेको र सोही घटनामा संलग्न कुमार तामाङको फैसलामा डोल्मालाई भेटिएको बखत मुद्दा चलाउने गरी फैसला भएकोले पुरक जाहेरी दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला सहायक न्यायाधिवक्ता विकास बन्जराले बताउनु भयो ।

उल्लिखित पीडितहरुलाई बेचबिखनमा संलग्न रहेको कसुरमा कुमार तामाङलाई भने नुवाकोट जिल्ला अदालतले ०७५ कात्तिक १४ गते दोषी ठहर गर्दै २० वर्ष कैद सजाय र ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको थियो । हाल तामाङले कैद भुक्तान गरिरहेको प्रहरीले जनाएको छ ।


नवदीप श्रेष्ठ