बुहारीको हत्या प्रयास गरेको कसुरमा तीन वर्ष कैद सजाय

  ०७९ असोज २ गते

राजविराज नगरपालिका–१५ की २० वर्षीया रेखादेवी शर्मालाई आगो लगाई हत्या प्रयास गरेको कसुरमा जिल्ला अदालको आदेशले उनका ससुरा ५५ वर्षीय परशुराम शर्मा सुतिहारलाई भदौ ३० गते तीन वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले तीन वर्ष कैद, ३० हजार रुपियाँ जरिबानाका साथै ५० हजार रुपियाँ औषधोपचार खर्च भराउन र ६ सय रुपियाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्न अन्तिम आदेश गरेको हो ।

आगो लगाई हत्या प्रयास गरेको भन्दै पीडितले ५० वर्षीया सासू द्रौपती शर्मा, ३५ वर्षीय जेठाजु खेमचन शर्मा र जेठानी ३२ वर्षीया रम्भादेवी शर्माविरुद्ध ०७६ माघ १७ गते जिल्ला प्रहरी कार्यालयमा माघ २० गते उजुरी दिनु भएको थियो ।

जिल्ला प्रहरी कार्यालयले पीडितबाट तेस्रो पटक उजुरी परिवर्तन गर्न लगाई परशुराम शर्मा सुतिहारविरुद्ध मात्र उजुरी दर्ता गरेको थियो ।

परशुरामलाई माघ २१ गते गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयले आगो लगाई ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गरेको थियो ।

घटना हुँदाका बखत पीडितको ४५ दिनकी छोरी थिइन् । सामाजिक परम्पराअनुसार ०७५ फागुन २४ गते पीडितको विवाह गरिएको थियो । घटनाका बेला पीडितका पति २७ वर्षीय रबिन्द्र शर्मा काठमाडौँमा काठको मजदुरी गर्दथे ।

राजविराज नगरपालिका–६ स्थित माइतैमा सुत्केरी भएकी पीडित घटनाको १९ दिनअघि घर जानु भएको थियो ।

घटनमा संलग्न आरोपितहरूले आगोले सल्काएर हत्या गर्ने योजना अनुरूप आफूले सुकाएको सारीमा पेट्रोल छर्केको र सो सारी लगाएर आँगनमा हिंडिरहेका बेला टाढा रहेको चुलोको आगो एक्कासी सारीमा सल्किएको पीडितले बताउनु भयो ।

गुहार माग्दा घरमै रहेका आरोपितहरू जोगाउन समेत नआएपछि आँगनमै थुपारेको धानमा मडारिएर आगो निभाई ज्यान जोगाएको पीडितले बताउनु भयो । पीडितको उपचार समेत नगरी घरपरिवारले तीन दिन घरभित्रै बन्धक बनाएर राखेका थिए ।

पीडितकी आमा सरस्वती शर्माले घटनाको तीन दिनपछि थाहा पाएर पीडितलाई माइत ल्याएर राजविराजस्थित अस्पताल र निजी क्लिनिकमा उपचार गरेर ज्यान जोगाएको बताउनु भयो ।

जिल्ला अदालतमा ०७६ फागुन १६ गते उजुरी दायर भएकोमा अदालतको आदेशमा आरोपित फागुन १८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।


मनोहरकुमार पोखरेल