बुलिङटारको एकै वडामा २७ जना क्षयरोगी फेला

बुलिङटार गाउँपालिका– ४ मा २७ जनामा क्षयरोग देखापरेको छ ।

स्वास्थ्य कार्यालय नवलपुर, बुलिङटार गाउँपालिकाको समन्वय तथा जन्त्रको प्राविधिक सहयोगमा ०८१ जेठ १५ र १६ गते  गरी दुई दिनसम्म गरिएको खोज पड्ताल शिविरमा एउटै वडाका २७ जनामा क्षयरोग देखापरेको छ । भने शंकास्पद ४० जनालाई रिफर गरिएको स्वास्थ्य कार्यालय नवलपुरका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले जानकारी दिनुभयो । बुलिङटार गाउँपालिकाको वडा नं ४ स्थित बोझापोखरी, अर्खला र सिंचेन गरी तीन स्थानमा पोर्टेवल एक्सरे मेसिनको प्रयोगबाट परीक्षण गरिएको थियो । ४ सय ८५ महिला र ३ सय ७८ पुरूष गरी ८ सय ६३ जनाको छातिको एक्सरे विधिबाट परीक्षण गर्दा ११ जना पुरूष र १६ जना महिला गरी २७ जना क्षयरोगका बिरामीको पहिचान भएको हो ।

एकै स्थानमा यति धेरै सङ्ख्यामा क्षयरोगका बिरामी फेला पर्नु चिन्ताजनक रहेको ल्याब टेक्निसियन निरीक्षक तिवारीले बताउनुभयो । विकट पहाडी क्षेत्र भएकाले पनि यहाँका स्थानीय स्वास्थ्य संस्थासम्म पुगेर रोगको परीक्षण गराउन नसक्ने अवस्था रहेकाले रोगको पहिचान गर्न नसकेका हुन् ।  धेरै सङ्ख्यामा क्षयरोगका बिरामी देखापरेपछि स्थानीय पनि चिन्तित बनेका छन् ।

एकै स्थानमा धेरै सङ्ख्यामा बिरामी फेला पर्नु निकै चुनौतीको विषय रहेको बुलिङटार गाउँपालिका अध्यक्ष  दिपेन्द्र सुनारी मगरले बताउनुभएको छ । यता स्वास्थ्य कार्यालयलाई पनि स्वास्थ्य चुनौती बढेको महसुस गरेको ल्याब टेक्निसियन निरीक्षक तिवारीले बताउनुभयो ।

४० जना शंकास्पद क्षयरोगका बिरामीहरूको जिनएक्सपर्ट विधिबाट खकार परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पतालमा पठाइएको र पहिचान भएका सबै क्षयरोगका बिरामीहरूलाई नजिकको अर्खला स्वास्थ्य चौकीमा दर्ता भई औषधी खाने व्यवस्था मिलाइएको ल्याब टेक्निसियन निरीक्षक तिवारीले जानकारी दिनुभयो ।


ज्ञानु पंगेनी