बुद्धभूमी नगरपालिकाका मेयर उम्मेदवारको घर नजिकै सुतली बम विष्फोट

बुद्धभूमी नपा-१ स्थित महेन्द्रकोट निवासी नेपाली काङ्ग्रेसका तर्फबाट मेयरका उम्मेदवार केशवकुमार श्रेष्ठको घर नजिकै सडकमा असार १२ गते बम विष्फोट भएको छ ।

अज्ञात समूहद्वारा गरिएको सुतली बम विष्फोटबाट कुनै मानवीय र भौतिक क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए ।

मौन समय सुरूभएसँगै अज्ञात समूहले गराएको बम विष्फोटनबाट निर्वाचनलाई प्रभावित बनाउन प्रयास गरिएको स्थानीयबासी बताउँछन् ।

कपिलवस्तुका २ सय ३३ मतदानस्थल मध्ये दक्षिणी भेग तथा सिमाक्षेत्रका १ सय ६३ मतदान स्थललाई अति सम्वेदनशील र २५ स्थानलाई सम्वेदनशील तथा अन्य स्थललाई सामान्य भनेर वर्गीकरण गरिएको छ ।

जिल्लामा फाटफुट घटना भएपनि समग्र रूपमा शान्तिपूर्ण रूपमा निर्वाचन कार्यक्रम सञ्चालन भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाभर सबै निर्वाचन स्थलहरूमा मतदाताहरूलाई परिचयपत्र वितरण कार्य जारी रहेको कार्यलयले जानकारी दिएको छ ।


नन्दराम पौडेल