बुढिगंगा नगरपालिकामा स्थगित निर्वाचन पुनःगर्ने सर्वपक्षीय सहमति

  ०७९ असार ३ गते

बुढिगंगा नगरपालिकामा स्थगित गरिएको स्थानीय तहको निर्वाचन असार २३ गते सम्पन्न गर्न सर्वदलिय बैठकबाट मतदान गर्ने सहमति गर्दै मिति तोकिएको छ ।

नेकपा एमाले, नेपाली कांग्रेस,  नेकपा माओवदी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लगायत ६ ओटा राजनीतिक दलका प्रतिनिधि, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख सहितको सहभागितामा आसर २ गते बसेको सर्वदलिय बैठकले स्थगित निर्वाचनको मिति तोकेको हो ।

स्थगित गरिएको स्थानीय तहको निर्वाचनको मिति तोक्ने सम्बन्धमा पटकपटक सर्वदलिय बैठकको आयोजना गरिएको भएपनि सहमति हुन नसकेको भएपनि पाँचौँ पटकको प्रयासबाट मिति तोक्न सहमति भएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताउनु भयो ।

बुढिगंगा नगरपालिकामा लक्ष्मणबहादुर कठायतलाई बुढिगंगा नगरपालिकामा निर्वाचन अधिकृत तोकिएको छ ।

बुढिगंगा नगरपालिकामा वैशाख ३० गते भइरहेको मतादान कार्यमा राजनीतिक दलहरुका कार्यकर्ताले विवाद उत्पन्न गरेपछि स्थगित भएको निर्वाचन पुनःसञ्चालन गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो ।

बुढीगंगा नगरपालिकाका १० ओटा वडा मध्ये ६ ओटा वडा क्रमसः वडा नम्बर २, ३, ४, ५, ७ र ९ का मतदान केन्द्रमा विवाद उत्पन्न भएको थियो ।

नगपालिकाको वडा नम्बर २, ३, ५ र ९ स्थित मतदानस्थल एमालेका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए भने वडा ४ र ७ मा नेपाली कांग्रेसका कार्यकर्ताले नियन्त्रणमा लिएर आफू अनुकूल मतदान गरेका थिए ।

नेपाली कांग्रेसले नगरपालिकाको वडा नम्बर ४ मा बुथ कब्जा गरेर ९९ दशमलव ४१ प्रतिशतसम्म मत खसाएको थियो भने एमालेले कब्जा गरेका भनिएका वडा नम्बर २, ३, ५ र ९ मा ९०.८२ प्रतिशत मतदान गरिएको थियो ।

राजनीतिक दलका कार्यकर्ताहरु हातहतियार सहित मतदानस्थलमा प्रवेश गरी झडप सुरु भएपछि मतदानमा खटिएका सुरक्षाकर्मी र कर्मचारीहरुले मतपेटिकाहरु मतदानस्थलमै छोडर हिडेका थिए ।

बुढीगंगा नगरपालिकाको विवाद अध्ययन गर्न निर्वाचन आयोगका आयुक्त सगुनशमशेर जबरा सहितको टोलीले जेठ १ गते स्थलगत अध्ययन गरी मतगणना गरिनु पर्ने स्थलगत अध्ययन प्रतिवेदनमा उल्लेख गरेको भएपनि निर्वाचन आयोगले पुनःमतदान गर्ने निर्णय गरेको थियो ।

नेकपा एमालेले पनि मतगणना हुनु पर्ने माग राख्दै सर्वोच्च  अदालतमा रिट दायर गरेको भएपनि उक्त रिट बिचाराधिन अवस्थामा रहेको छ ।

बुढिगंगा नगरपालिका जनप्रतिनिधि विहीन हुँदा सिफारिसदेखि बजेट खर्च र योजना निर्माणसम्मका सबै कामकाज ठप्प रहेका छन् ।

असार १० गते स्थानीय तहहरुले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नु पर्ने प्रावधान भएपनि जनप्रतिनिधिहरु नै नभएपछि अन्यौल भएको नगरपालिकाका लेखापाल पूर्ण जैशीले बताउनु भयो ।


पदमबहादुर सिंह