बीमा बापतको सुविधा नपाएको ज्येष्ठ नागरिकको गुनासो

नेचासल्यान गाउँपालिका–२ का टेकबहादुर थापा ७६ वर्षको हुनुहुन्छ । उहाँले स्वास्थ्य बीमा गरेको ४ वर्ष पुरा भएको छ ।

दैनिक रूपमा दमको औषधि सेवन गर्दे आउनु भएका थापाले ३ महिनामा १० हजार रुपियाँ बराबरको औषधि खरिद गर्दे आएको बताउनु भयो । उहाँले आफूसँग बीमा कार्ड भएपनि बीमा बापतको अहिलेसम्म कुनै सेवा सुविधा नपाएको गुनासो गर्नु भयो ।

ज्येष्ठ नागरिक टेकबहादुर थापाको मात्र हैन, अन्य धेरैको ज्येष्ठ नागरिकको गुनासो बीमा बापतको सुविधा नपाएको भन्ने छ ।

सरकारले ०७२ साल चैत्र २५ गतेबाट ७० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिरहेको छ । सुदूरपश्चिम प्रदेशको कैलालीबाट सुरूआत गरिएको बीमा कार्यक्रम अहिले देशभर सञ्चालन भइरहेको छ । बीमा बापतको रकम कुनै रोग विशेषलाई नभई साधन र स्रोतले भ्याएसम्म सबै प्रकारका रोगलाई दिइने प्रावधान छ ।

ओपीडी सेवा, ल्याब, भर्ना, औषधिदेखि लिएर फार्मेसी परामर्शलगायत सेवा निशुल्क उपलब्ध हुने स्वास्थ्य बीमा निर्देशिकामा उल्लेख गरिएको छ । तर सोलुखुम्बुका ज्येष्ठ नागरिकहरूले बीमा बापतको सेवा सुविधा नपाएको गुनासो गरेका छन् ।

जिल्लामा अहिलेसम्म ७० वर्ष उमेर पार गरेका २ हजार ४ सय ७८ जनाले स्वास्थ्य बीमा गराएको सरकारी तथ्याङ्कमा उल्लेख छ । जसमा  १ हजार १ सय ५९ जना पुरूष र १ हजार ३ सय १९ जना महिला स्वास्थ्य बीमाको पहुँचमा रहेको स्वास्थ्य बीमा अधिकारी प्रदीप बस्नेतले बताउनु भयो ।

बीमा बापतको रकम प्राप्त गर्ने जटिल कानुनी प्रक्रिया यहाँका ज्येष्ठ नागरिकको लागि मुख्य बाधक बनेको छ । बीमा बापत के कति सुविधा पाइन्छ भन्ने पूर्ण जानकारी नहुनु दोस्रो समस्या बनेको छ । जिल्लाका दुर्गम क्षेत्रका नागरिकले सुविधाको आशमा बीमा गर्ने गरेको भएपनि सरकारी नीति नियम बारे जानकारी नै नभएको सोलुदूधकुण्ड नगरपालिका–८ की पूर्णमाया मगरको भनाइ छ  ।

स्वास्थ्य निर्देशिका २०७५ ले व्यवस्था गरे अनुसार अस्पतालमा जाने बीमितहरूले त्यस अनुसारको सेवा सुबिधा नपाएको नेचासल्यान गाउँपालिका–३ का कुमार कट्टेलले बताउनु भयो । स्वास्थ्य बीमा अधिकारी प्रदीप बस्नेतका अनुसार जिल्लाको तीन वटा अस्पतालसँग बीमा बापतको सेवा सुविधा सम्बन्धमा सम्झौता भएको छ ।

जिल्ला अस्पताल फाप्लु, प्राथमिक स्वास्थ्य केन्द्र सल्यान र सोताङ प्राथमिक अस्पतालसँग सम्झौता गरेपनि जिल्लाका सबै बीमित तथा ज्येष्ठ नागरिकले सुविधा लिन नसक्ने उहाँको भनाइ छ ।

सोताङ प्राथमिक अस्पतालबाहेक अन्य अस्पतालबाट सेवा लिनेको सङ्ख्या एकदमै कम रहेको बीमा अधिकार बस्नेतको भनाइ छ । स्वास्थ्य बीमा सम्बन्धमा स्थानीय सरकारको चासो कम हुनुले पनि बीमा गरेका नागरिक सेवाबाट वञ्चित भएको बस्नेतले बताउनु भयो ।

खुम्बु पासाङल्हामु गाउँपालिका बाहेकका स्थानीय तहमा यो कार्यक्रम लागु भएपनि ४८ वटा वडामध्ये १५ ओटा वडामा स्वास्थ्य बीमा कार्यकर्ता निश्कृय रहेको स्वास्थ्य बीमा अधिकारी प्रदीप बस्नेतको भनाइ छ । ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा नेपाल सरकारले गरी दिन्छ । नेपालमा हालसम्म  १८ लाख १० हजार जना ज्येष्ठ नागरिक स्वास्थ्य बीमाको पहुँचमा पुगेको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

बीमितहरूले तोके अनुसारको सेवा नपाएको विषयमा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डाक्टर दामोदर बसौलाले यस विषयमा लिखित उजुरी आएको खण्डमा छानबिन गरी कमजोरी पाइएमा कारबाही गरिने बताउनु भयो ।

“आज सम्म कसैले पनि गुनासो गरेका छैनन्, यदि उजुरी आयो भने अस्पतालसँग बुझ्छौ ।” उहाँले भन्नुभयो, “यदि कमजोरी भएमा सचेत गराउँने देखि नियम अनुसार कारबाही गर्ने सम्मको काम गर्छौ ।” नेपालमा ६० वर्ष भन्दा बढी उमेरका २५ लाख नागरिक रहेका छन् । २०६३ यता सरकारले ७० वर्षभन्दा माथि उमेरका नागरिकलाई सामाजिक सुरक्षा र स्वास्थ्य भत्ताबापत मासिक ३ हजार रुपियाँ उपलब्ध गराउँदै आएको छ ।

सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम ज्येष्ठ नागरिकहरूका लागि राम्रो भएपनि प्रभावकारी कार्यान्वयन नहुँदा समस्या भएको बीमित तथा ज्येष्ठ नागरिकको गुनासो  छ ।


भोजराज कार्की