बिरामी र गर्भवतीलाई डोको र झोलुङ्गामा बोक्नुपर्ने बाध्यता

जिल्लाका अधिकांश गाउँ सडक सञ्जालसँग नजोडिएकाले बिरामी र गर्भवती महिलाको जीवन डोको झोलुङ्गा भरमा बाँचेको छ । बिरामी र गर्भवती महिलालाई स्वास्थ्य संस्थामा पुरयाउन डोको, काठको झोलुङ्गा वा स्टेचरमै बोकेरै स्वास्थ्य संस्थामा पुरयाउने बाध्यता रहेको छ ।

भूमे, पुथा र सिस्ने गाउँपालिका गरी तीन वटा स्थानीय तह रहेको जिल्लामा  सडक भएको ठाँउमा पनि एउटै एम्बुलेन्स नभएका कारणले नागरिकहरूले सास्ती व्यहोर्नु परेको छ ।

सिस्ने गापा र भूमे गापाका मुख्य बस्तीहरूमा राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र सहिद मार्ग सञ्चालन रहेकोले यहाँका बासिन्दालाई केही राहत प्रदान भए पनि  सडक सञ्जालसँग नजोडिएका गाउँ र सिङ्गो पुथाउत्तरगङ्गा गापाका नागरिकहरू उक्त समस्यासँग जुधिरहेका छन् ।

०७६  असोजमा पुथाउत्तरगंगा गापा–२ पेल्माकी पार्वती बुढालाई सुत्केरी व्यथाले च्यापेपछि स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि गाउँलेहरूले सोही गाउँपालिका– १२ कोलस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा डोकोमा बोकेर पुरयाए । पार्वतीलाई झै यस ठाउँका अधिकाशं बिरामीलाई यसै गरी डोको, काठको झोलुङ्गो र स्टेचरमा बोकेर स्वास्थ्य संस्थामा पुरयाउनु पर्छ । दिनभरीको बाटो बिरामीलाई बोकेरै  स्वास्थ्य संस्थामा पुरयाउन गरेको पुथा गापा–१ मैकोटका विकास पुनले बताउनु भयो । उहाँका अनुसार  कुनै गाँउमा त बोक्ने मानिस समेत नहुदाँ समस्या हन्छ ।

जोखिमपूर्ण गोरेटो बाटोमा बिरामीको लोडसँग हिड्नै मुस्किल हुने गरेको पुनको गुनासो छ । बिरामी तथा अन्य उपभोग्य र निर्माणका सामाग्री समेत ओसार्न समस्या रहेको छ । देउखोला–नायगाड–जामाबगर गोरेटो बाटोखण्डमा ढुङ्गामा फलाम ठोकेर बाटो बनाइएको छ । उक्त बाटोमा बिरामी, गर्भवती, बालबालिका, अशक्त र ज्येष्ठ नागरिकलाई बढी समस्या हुनुको सथौ  अन्य नागरिक समेत जोखिम मोलेर आवत जावत गर्नुपर्छ । विद्यालय, स्वास्थ्य, खानेपानी, विद्युत लगायत निर्माण कार्यका समान ओसार्न समेत समस्या रहेको छ ।

सडक सञ्जालको पहुँच नहुँदा बिरामीलाई स्वास्थ्य संस्थामा जान समस्या छ नै औषधि समेत ओसार्न समस्या हुने गरेको पुथाउत्तरगंगा गाउँपालिकाका स्वास्थ्य संयोजक समिर गिरीले बताउनु भयो । उहाँका अनुसार गत वर्ष पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्माका सुरकुमारी कामीलाई स्वास्थ्य संस्थामा पुरयाउने क्रममा बाटोमै मृत्यु भयो ।

भूमे गापा–२ गाबाङका प्रेम घर्तीलाई सुत्केरी व्यथाले च्यापेपछि डोकोमा बोकेरै दुई घण्टाको समय लाग्ने बाटोमा स्वास्थ्य चौकी काक्रीमा पुरयाए । गाउँमा बिरामी बोक्न सधै डोकाको भर पर्नु परेको प्रेमका पति सुजन घर्र्तीले गुनासो गर्नुभयो ।

गाउँ नजिक स्वास्थ्य चौकी छैनन्, न त गाउँमा पर्याप्त मात्रामा भनेको बेला स्टेचर पाइन्छ, सधँै डोको र काठमा कपडा बेरेर बिरामी बोक्नु पर्छ’ उहाँले भन्नुभयो–‘कुनै–कुनै बस्तीहरूमा त दिनभर पैदल यात्रा गर्नुपर्छ, आकस्मिक बिरामी परे ज्यान गुमाउनु पर्छ ।’ गाबाङ गाउँ जस्तै दर्जनौ गाउँमा सडक पुगेको छैन ।

पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्ती मगरका अनुसार गाउँ बस्तीहरू छरिएर रहेका कारणले बढी समस्या आइरहेको बताउदै  स्टेचर आवश्यकता अनुसार उपलब्ध गराएको बताउनु भयो । उहाँले भौगोलिक विकटका कारणले सडकको काममा  ढिलाई भइरहेको बताउनु भयो  ।

सडक नभएका कारणले आकस्मिक बिरामीलाई हेलिकप्टरबाट उद्धार गर्न दुई ठाउँमा हेलिप्याड निर्माण गरेको र  अझै सात-आठ ठाउँमा हेलिप्याड निर्माण आवश्यक रहेकोले चालु वर्षकालागि प्रदेश सरकारले बजेट विनियोजन गरेको घर्तीले बताउनु भयो ।

 

2020011001rukum2020011003rukum2020011004rukum


जयमान बुढा मगर