बिरामी र कुरुवाको खाना व्यवस्थापनमा इन्सेकको सहयोग

  ०७८ जेठ १ गते

भेरी अस्पतालमा उपचाररत कोभिड सङ्क्रमित र कुरुवाहरूका लागि खानाको व्यवस्थापन गर्न इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जले जेठ १ गते एक लाख रुपियाँ सहयोग गरेको छ ।

भेरी अस्पताल, नेपालगञ्जको प्राङ्गणमा  विगत आठ महिना देखि कोभिड सङ्क्रमित र कुरुवाहरूलाई अञ्जनी माता रसोईले खाना खुवाउदै आएकोमा पछिल्लो समय सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र निषेध आदेशका कारण होटलहरू समेत बन्द रहेको अवस्थामा बिरामी र कुरुवा खानाबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले इन्सेकले सहयोग गरेको हो ।

photo2021051501banke

भेरी अस्पतालका मेसु डाक्टर प्रकाश थापा, भेरी अस्पताल समितीका अध्यक्ष प्रमोद धिताल, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी लगायतको उपस्थितीमा सहयोग रकम हस्तान्तरण गर्दै इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले अञ्जनी माता रसोईले गर्दै आएको कार्य उदाहरणीय भएको बताउदै बजार पूर्णरुपमा बन्द रहेको अवस्थामा बिरामी र कुरुवाको खानाका व्यवस्थापनमा सहयोग पुगोस भन्ने उद्देश्यले इन्सेकले सहयोग गरेको बताउनु भयो ।

भेरी अस्पतालका मेसु डाक्टर प्रकाश थापाले विगत आठ महिनादेखि भेरी अस्पतालको प्रङगणबाट बिरामी र कुरुवा लगायत स्वास्थ्यकर्मीले खाना खाइरहेको बताउदै बजार बन्द रहेकाको अवस्थामा इन्सेकको सहयोग महत्वपूर्ण रहेको र यसले थप सेवामा लाग्ने हौसला प्रदान गरेको बताउनु भयो ।

photo2021051502banke

भेरी अस्पताल समितिका अध्यक्ष प्रमोद धितालले  बिरामी र कुरुवाका लागि खानाको व्यवस्थापनमा इन्सेकको सहयोगले हौसला बढाएको बताउनु भयो । अध्यक्ष धितालले अझै नागरिकको मन जित्नेगरी काम गर्ने बताउनु भयो ।

अञ्जनी माता रसोईका व्यवस्थापक जितेन्द्रकुमार सिहले सहयोग रकम बुझ्दै खानाको व्यवस्थापन गर्न र यस कार्यलाई निरन्तरता दिन सहयोग पुगेको बताउनु भयो ।


स्मृति देवकोटा