बिरामीसहितका परिवारलाई नियन्त्रणमा लिएर हिरासतमा राख्दा बिरामीको मृत्यु भएको आरोप

बकैया गाउँपालिका-१ की मुटु रोगको बिरामी ५६ वर्षीया चिरमाया लोलाई परिवारले ०८० असोज १४ गते काठमाडौँबाट घरतर्फ लैजाँदै गर्दा प्रहरीले एम्बुलेन्समा आएका बिरामीसहितका परिवारलाई नियन्त्रणमा लिएर हिरासतमा राख्दा बिरामी महिलाको मृत्यु भएको आरोप लागेको छ ।

काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट डिस्चार्ज गरिएका बिरामी बोकेको ना. २ च ८४३२ नम्बरको एम्बुलेन्स हेटौँडा उपमहानगरपालिका-४, स्थित रानी दरबार अगाडि रोकेर घुमुवा प्रहरी सहायक हबल्दार डिल्लीराम शिवाकोटीले सडकमै हातपात गरेपछि महिलाको मृत्यु भएको आरोप लागेको हो ।

एम्बुलेन्ससँगै काठमाडौँबाट आएको एउटा टाटासुमोमा रहेका परिवारलाई लिन बकैयाबाट अर्को टाटासुमो आएको थियो । रानी दरबार अगाडि मेनरोडमै काठमाडौँबाट आएको टाटासुमो खाली गरेर बकैयाबाट आएको टाटासुमोमा बिरामीको परिवार चढ्नै लाग्दा सहायक प्रहरी हबल्दार डिल्लीराम शिवाकोटीले अत्याधिक मादक पदार्थ सेवन गरी चालक र बिरामीको आफन्तमाथि हातपात गरेको बिरामी महिलाका छोरा लालबहादुर वाइवाले जानकारी दिनुभयो ।

मृतक महिलाको छोरा र ज्वाइँसहित पाँच जनालाई चार/पाँच घण्टा हिरासतमा राखेर असोज १५ गते छोडेको थियो । घटनामा प्रहरीकै गल्ती देखेपछि एउटा सहमति पत्र गराएर उनीहरूलाई हिरासतमुक्त गरिदिएको जिल्ला प्रहरी कार्यालयकी डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । सहमति पत्रमा घाइते सहायक हवल्दार शिवाकोटीको उपचार प्रहरी पक्षबाटै गराइने उल्लेख भएको छोरा वाइवाले बताउनु भयो । शिवाकोटीको उपचार भएपछि दुवै पक्षबीच बसेर मिलापत्र गरिने डिएसपी भण्डारीले उल्लेख गर्नुभयो ।


पुष्पराज अधिकारी