बिरामीबिच अस्पतालभित्रै तँछाडमछाड, भागदौडमा दुई जना बिरामीको हातगोडा भाँचियो

भरतपुर अस्पतालमा स्वास्थ्य जाँचका लागि पुगेका बिरामीहरूबिच पहिले भवन भित्र छिर्ने र पहिले पालोमा बस्ने भन्ने विषयमा दौडादौड हुँदा जेठ २१ गते दुई जना घाइते भएका छन् ।

भरतपुर-१० की ४७ वर्षीया कमलाकुमारी नेपालको घुँडामा गम्भीर चोट लागेको र अप्रेशन गर्नुपर्ने भनी डाक्टरले जनाएका छन् ।

त्यस्तै ठोरीकी ३७ वर्षीया शान्ता तामाङ को हातमा चोट लागेको जनाइएको छ । घटनालगतै अस्पतालको इमरजेन्सी वार्डमा उनीहरूको उपचार गरिएको थियो । हाल दुवै जनालाई अर्थो वार्डमा भर्ना गरी उपचार गराइएको छ ।

विहान ८:३० बजे ढोका खोल्ने निर्देशन भए अनुसार च्यानल गेट खुला गरिएकोमा लडेर दुई जना घाइते भएको र उनीहरूलाई अरू बिरामीले च्यापेर हात र गोडा भाँचिएको अस्पतालका ओपिडी इन्चार्ज वेदनाथ बरालले बताए ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. विश्वबन्धु बगालेले बिरामीहरूले संयमता नअपनाउँदा घटना भएको बताए ।


दिपेन्द्र अधिकारी