बिरामीको मृत्यु पछि अस्पतालमा तोडफोड

  ०८० असार १९ गते

धनौजी गाउँपालिका–२, धनौजी का ३२ वर्षीय पप्पु राउतको ०८० असार १८ गते राती जनकपुरधामको गोदावरी हस्पिटल प्रालिमा उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका छन् ।

बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकको लापरवाहीले मृत्यु भएको आरोप लगाउँदै अस्पतालमा तोडफोड गरेको हो । अस्पतालमा तोडफोड गरेपछि अवस्था तनावग्रस्त बनेको थियो । अस्पताल प्रशासनले घटना बारे प्रहरीलाई जानकारी गराए लगतै अस्पताल परिसरमा व्यापक मात्रामा प्रहरी परिचालन गरि स्थितिलाई नियन्त्रणमा लिएको थियो । तोडफोडबाट सामान्य क्षति भएको अस्पतालका सञ्चालक डा. अशोक अधिकारीले बताउनु भयो ।

परिवारजनले अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका थिए । अस्पताल पक्षले उपचार खर्च मिनाहा र पाँच लाख रुपियाँ उपलब्ध गराउने सहमति भएपछि आफूहरुले मिलापत्र गरी शव बुझेको मृतकका बुबा गंगा राउतले बताउनु भयो ।साथै जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रसाद गौतमले आपसी सहमतिमा परिवारजनले शव बुझेको जानकारी दिनुभयो ।

अत्यधिक पेट दुखेको कारण असार १७ गते बिहान १० बजे पप्पुलाई अस्पताल भर्ना गरिएकोमा चिकित्सक र नर्सले बेवास्ता गरेको हुँनाले मृत्यु भएको आफन्तजनको आरोप छ । मृतकका पिता गंगा राउतले भन्नु भयो, पत्थरीको उपचारको निम्ति पप्पुलाई गोदावरी अस्पतालमा लगिएको थियो । तर, चिकित्सक कृष्णकुमार यादवको लापरवाहीका कारण  असार १८ गते साँझ उनको मृत्यु भयो ।

‘एक्कासी पेट दुखे पछि उनलाई उपचारका लागि सो अस्पतालमा ल्याइएको थियो । अस्पतालले उनको अवस्था सामान्य रहेको भन्दै उपचार शुरु गर्‍यो । तर, उनको पेटको दुखाइ झन् झन् बढ्न थाल्यो, मृतकका पिता गंगा राउतले भन्नुभयो, ‘मेरो छोरा पेटमा दुखेको भन्दै छटपटाइ रहेको थियो । तर, अस्पतालले उपचारमा कुनै चासो देखाएनन् । एक पटक राउण्डमा आएको चिकित्सक फेरि फर्केर आएनन् । हामीले पटक पटक अस्पताल प्रशासनसँग बिरामीको उपचारमा ध्यान दिन आग्रह गरिरहयौं, कसैले हाम्रो कुरा सुनेनन् । अन्तमा मेरो छोराले ज्यान गुमायो ।’
बिरामी पक्षले बाहिरबाट एकजना आफ्नो परिचित स्टाफनर्सलाई बोलाएर पप्पुको अवस्था बारे बुझ्न लगाउँदा उनको मृत्यु भइसकेको कुरा आफूहरूले जानकारी पाएको बुबा गंगा राउतले बताउनु भयो । उहाँले बिलको रकम बढाउन अनावश्यक औषधि र करिब ५० ओटासम्म सुई लगाउँदा आफ्नो छोराको मृत्यु भएको दाबी गर्नुभयो ।

यता, अस्पतालका इन्चार्ज सुशील कुमार साहले सर्जन डाक्टर रुपेश वर्मा र चिकित्सक डा.कृष्णा यादवले उनको उपचारमा कुनै कसर बाँकी नराखेको दाबी गर्नुभयो । असार १८ गते दिउँसो २ बजे उनको अपरेशनसमेत गरेर औषधि दिएको र हेरचाहका लागि कर्मचारी पनि खटाइएको अवस्थामा बिरामीको स्वास्थ्य अवस्था झन् झन् बिग्रिन लागेको साहले बताउनु भयो । साँझ आईसीयूमा राखेपछि उनको केही बेरमै मृत्यु भएको उहाँले जानकारी दिनु भयो । बिरामीलाई अस्पतालले आफूले भ्याएसम्म उपचारमा कुनै लापरवाही नगरेको इन्चार्ज साहको दाबी छ ।


अजयकुमार साह