बिरामीको उद्धारका लागि विमानस्थल पुगेका इन्सेककर्मी माथि दुर्व्यवहार

  ०७९ जेठ १५ गते

बिरामीको जिल्ला बाहिर उद्धारका लागि सिमकोट विमानस्थल पुगेका हुम्लास्थित इन्सेक जिल्ला प्रतिनिधि नन्द सिंहमाथि दुर्व्यवहार भएको छ ।
जेठ ११ गते जिल्ला अस्पताल हुम्लाले रिफर गरेका लालधन टमटा लगायतका बिरामीलाई जिल्ला बाहिर पठाउनका लागि प्लेन टिकटको माग गर्दै सिता एयरका सिमकोट स्टेशन इन्चार्ज छेपाल लामालाई अनुरोध गर्ने क्रममा सिमकोट विमानस्थलका प्रमुख मोहन गिरीले इन्सेककर्मी सिंहलाई दुर्व्यवहार गर्नु भएको इन्सेक जिल्ला प्रतिनिधि नन्द सिंहले आरोप लगाउनु भएको छ ।

जेठ १३ गते विमानस्थलमै पुगेर एयरलाइन्सका कर्मचारीलाई अनुरोध गर्ने क्रममा विमानस्थल प्रमुख गिरी एक्कासी बाहिरबाट आएर केही कुरा नबुझेरै अपशब्द प्रयोग गर्नु भएको सिंहको आरोप छ ।

सिंहले भन्नु भयो “म मानव अधिकारकर्मी र सञ्चारकर्मीको नाताले बिरामीलाई उद्धारका लागि अनुरोध गर्न आएको हुँ, हजुरसँग केही विवाद हैन भन्दा पनि प्रमुख गिरीले यसलाई प्रहरी बल प्रयोग गरेर बाहिर निकाल्नु पर्छ भन्दै प्रहरीलाई आदेश गर्नु भएको थियो ।” मलाई प्रहरीले चिनेको हुँदा प्रहरीले केही नभएको इन्सेक प्रतिनिधि सिंहले बताउनु भयो ।

घटनाका सम्बन्धमा इन्सेक प्रतिनिधि, नेपाल पत्रकार महासङ्घका पूर्व जिल्ला अध्यक्ष अर्जुन बोहरा र नेपाल पत्रकार महासङ्घका पूर्व प्रदेश सदस्य मन्दिर सिंङसहितको टोलीले जेठ १५ गते निमित्त प्रमुख जिल्ला अधिकारी अनुपम पौडेलसँग भेट गरी घटनामा संलग्न व्यक्तिलाई कारबाहीको माग गरेका थिए । निमित्त प्रजिअ पौडेलले घटनाका विषयमा आवश्यक प्रकृया अघि बढाई घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्ने आश्वासन दिनु भएको छ ।


इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत