बिना कसुर थुनामा राखेको भन्दै हिरासतभित्रै अनशनमा

  ०८० मङ्सिर १७ गते

सहकारीको रकम अपचलन गरेको आरोपमा गिरफ्तार परी अनुसन्धानमा रहनुभएका लमजुङको कालिका सहकारीका सञ्चालक समितिका सदस्य मिलन शर्मा दनाई आफूलाई बिना कसुर थुनामा राखेको भन्दै मङ्सिर १५ गते बिहान ५ बजेबाट जिल्ला प्रहरी कार्यालयको हिरासतमै अनशनमा रहनु भएको छ ।

अनशनरत दनाईको अवस्था विग्रदो रहेको छ । उहाँ अहिले बोल्न र हिड्न नसक्ने हुनुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सहकारीको १० करोड रकम अपचलन गरेको अभियोगमा अनुसन्धानको लागि प्रहरीले मङ्सिर १० गते मिलन शर्मा दनाई सहित अन्य पाँच जनालाई गिरफ्तार गरेको थियो ।

अनुसन्धानको क्रममा प्रहरी हिरासतमा अध्यक्ष शिवराम सिलुवाल, उपाध्यक्ष श्रीकृष्ण लामिछाने, सचिव कृष्ण बहादुर खत्री, सदस्य मिलन शर्मा दनाई, प्रमुख कार्यकारी अधिकृत वेदराज खनिया र लेखापरीक्षक महेन्द्र शर्मा पौडेल हुनुहुन्छ ।

आठ जना विरुद्ध पक्राउ पुर्जी जारी भएकोमा कालिका सहकारीका पूर्व अध्यक्ष मृगेन्द्र घिमिरे र उहाँको पत्नी हाल सहकारीका कोषाध्यक्ष विनिता घिमिरे अझै फरार रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर थानेश्वर चपाईले बताउनुभयो ।

थुनामा रहेका थप पाँच जना समेत आज बिहानबाट अनशनमा बस्नुभएको आरोपित कृष्ण बहादुर खत्रीले बताउनुभयो । आफूहरुले सहकारीको रकम कुनै हिनामिना नगरेको तर गर्नेलाई गिरफ्तार नगरेको भन्दै आफूहरु निर्दाेष नठहराहेसम्म र मुख्य दोषिलाई कानुनी दायरामा नल्याएसम्ममा यसरी नै अनशनमा बसिरहने आरोपित मिलन शर्मा दनाईले बताउनुभयो । प्रहरीले पनि मुख्य दोषिलाई गिरफ्तार गर्ने कार्यमा कुनै चासो नदेखाएको र सान्त्वना मात्र दिएको उहाको भनाई छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर थानेश्वर चपाईले आफूहरुले अनसनरतलाई बारम्बार खाना खान र अनशन तोड्न आग्रह गरेको बताउनुभयो ।


सुमित्रा भुजेल