बिजुली नहुँदा स्वास्थ्य उपकरण प्रयोगविहीन, बिरामी मर्कामा

हिमा गाउँपालिकामा पर्ने कालिकाखेतु प्राथामिक स्वास्थ्य केन्द्रमा रहेका विभिन्न स्वास्थ्य उपकरणहरू प्रयोग नभएरै खिया लागेका छन् । तीन शैयाको स्वास्थ्य केन्द्रमा बिरामी चेकजाँचमा सहजताका लागि भनेर पटकपटक खरिद गरिएका लाखौँका स्वास्थ्य उपकरणहरू प्रयोग नभएरै खिया लागेका हुन् । बिजुलीको समस्याका कारण स्वास्थ्य केन्द्रमा रहेका सबै उपकरणहरू प्रयोगविहीन हुँदा बिरामीले सास्ती खेप्नुपरेको स्वास्थ्य सहायक हंश महताराले बताए ।

उनका अनुसार नेबुलाईजेसन, इन्फाण्ट अर्मर, माइक्रोस्कोप, बायो क्यामेस्ट्री एनालाइजर मेसिन, क्यालोरी मिटर, सेन्ट्री फ्यूज, एक्सरे मेसिन, फ्रिज, ल्याव्रेटरी मेसिनलगायतका महत्वपुर्ण उपकरणहरू विद्युतीय समस्याले प्रयोग नगरेरै थन्क्याइएको हो ।

'स्वास्थ्य केन्द्रमा दैनिक ५० जनाभन्दा बढी बिरामी आँउछन् । सामान्य ओपिडि सेवा बाहेक अरू बिरामी चेकजाँच गर्न समस्या छ । भएका उपकरण प्रयोगविहीन हुँदा आफूले सिकेको सिप पनि बिर्सँदै गएको छ ।'-ल्याव असिष्टेण्ट निर्मल काफ्लेले भने-'सामान्य दिसापिसाव, रगत, खकार जाँच गर्नुपर्ने बिरामी पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गर्नुपर्छ । यहाँ २ सय रुपियाँले हुने काम बिरामीले प्रतिष्ठानमा जाँदा, आँउदा ४/५ हजार खर्च गर्ने गरेका छन् ।'

बर्थिङ सेन्टर समेत सञ्चालनमा रहेको उक्त स्वास्थ्य केन्द्रमा प्रसूति सेवा लिन आउनेहरूको सङ्ख्या बढ्दै गएपनि सुरक्षित प्रसूतिपछि नवजात शिशुलाई न्यानो बनाउने इन्फाण्ट अर्मर मेसिन सञ्चालनमा नआँउदा समस्या बढेको अनमी देवकी खड्काले बताइन् । स्वास्थ्य केन्द्रमा तालिम प्राप्त स्वास्थ्यकर्मी र सामग्री भएपनि त्यसको उचित प्रयोग हुननसक्दा बिरामी रेफर गर्न बाध्य भएको स्वास्थ्य केन्द्रले जनाएको छ ।

'घर नजिकै रहेको स्वास्थ्य केन्द्रबाट विशेषज्ञ सेवा पाउने आशा थियो । तर, सामान्य घाउ ड्रेसिङ् गर्न पनि प्रतिष्ठानमा जान बाध्य छौँ । स्थानीय तहको गठनपछि स्वास्थ्य केन्द्रको हालत अझै बिग्रिएको छ ।'-सेवाग्राही कालिबहादुर शाहीले बताए ।

स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष नन्दबहादुर रावतले तत्काल स्वास्थ्य केन्द्रमा विद्युतीय समस्या समाधानका लागि पहल गर्ने बताएका छन् । उनले भने-'गाँउपालिका तथा अन्य निकायमा यो समस्या राख्नेछु । र, आगामी आर्थिक वर्षसम्म आवश्यक बजेटको व्यवस्था गरी उपकरणहरू सञ्चालन गरेर बिरामीलाई प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गरिनेछ' ।

दुई जना एमबिबिएस डक्टरसहित १२ जनाको दरबन्दी रहेको कालिकाखेतु प्राथामिक स्वास्थ्य केन्द्रमा एक जना बाल विशेषज्ञ डक्टर माग गरिएको छ । प्रयोगविहीन भएका उपकरण सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालय तथा अन्य सङ्घसंस्थासँग सोलार व्याकअपको माग गरिए पनि सुनुवाइ नभएको स्वास्थ्य सहायक हंश महताराले बताए ।


मानदत्त रावल