बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत छोरा बेपत्ता भएको भन्दै बुबाद्वारा खोजबिनका लागि आग्रह
तिलगङ्गा आँखा अस्पतालको तर्फबाट सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत छोरा २५ वर्षीय पुजन राई ४५ दिनदेखि बेपत्ता भएको भन्दै भोजपुर हतुवागढीका लालकुमार राईले पुस १० गते इन्सेक भक्तपुर प्रतिनिधि रमेश गिरीसँग खोजबिन गरिदिन आग्रह गर्नु भएको छ ।
बुबा लालकुमारले इन्सेक प्रतिनिधि गिरीसँग छोराको खोजीका लागि मानव अधिकारकर्मी, पत्रकार, जनप्रतिनिधि, प्रहरीलगायतको सहयोग जुटाइदिन पनि अनुरोध गर्नु भएको छ ।
बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा २०७६ माघ महिनादेखि नेत्र सहायकका रुपमा कार्यरत राई ०७७ कात्तिक २७ गते प्राथमिक स्वास्थ्य केन्द्रबाट साथी भेट्न भन्दै भोटेकोशी गाउँपालिका चाकु गएपछि नफर्केको उहाँले जानकारी दिनुभयो ।
बेपत्ता राईका परिवारका अनुसार कात्तिक २७ गते प्राथमिक स्वास्थ्य केन्द्रका फार्मेसीमा कार्यरत सृष्टि श्रेष्ठसँग आफ्नै को.२१प. ५७९९ नम्बरको मोटरसाइकलमा बाह्रबिसेको पुल नजिकैसम्म गएको र त्यहाँबाट एक्लै भोटेकोशी गाउँपालिकास्थित चाकुमा साथी राकेश श्रेष्ठलाई भेट्न गएकोमा त्यसैदिनदेखि बेपत्ता भएका हुन् ।
आफन्तले बाह्रबिसेदेखि चाकुसम्म पुगेर खोजतलास गर्दा राकेश लगायत चारजनासँगै बसेर खाना खाएको थाहा भएको छ । त्यसपछि बाह्रबिसे कोठातर्फ फर्किएको भनिए पनि कोठामा आइनपुगेको पिता लालकुमारले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँ बस्ने दिदीले सोही दिन राती ८ः३० बजेसम्म दुईवटै नम्बरमा फोन गर्दा घण्टी गएको तर नउठाएको र २८ गते पनि फोन जाने तर नउठाउने भएपछि स्वीचअफ भएको मोवाइल अहिलेसम्म खुलेको छैन ।
बेपत्ता राईका पिता लालकुमारले भन्नुभयो, “छोरासंँग सम्पर्क नभएपछि तत्कालै बाह्रबिसे पुगेर कतै दुर्घटना पो भयो कि भनेर बाह्रबिसेदेखि भोटेकोशी, चाकु सबैतिर खोजी गरिसक्यौ, सम्भावित सबै ठाउँमा खोजी गर्दा पनि मान्छे, मोटरसाइकल केही भेटिएन, शंकास्पद व्यक्ति माथि किटानी जाहेरी दिँदा पनि प्रहरीले जाहेरी लिएन ।”
तिलगगा आँखा अस्पतालमा कार्यरत उहाँका आफन्त कैलाश राईले बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रदेखि भोटेकोशीसम्म खोज्दा पनि नभेटिएको बताउदै बाह्रबिसे नगरपालिका, यहाँको स्वास्थ्य केन्द्र, प्रहरी सबैतिर खोजी गरिदिन आग्रह गरे पनि अझै पत्ता नलागेको बताउनुभयो ।
इन्सेक प्रतिनिधि गिरीले राईको खोजबिनका लागि राष्ट्रिय मानव अधिकार आयोग, अधिकारकर्मी, पत्रकार, प्रहरी तथा जनप्रतिनिधि लगायतको ध्यानाकर्षण गराउनु भएको छ ।
यसबारेमा इन्सेक प्रतिनिधिले बाह्रबिसे प्रहरी कार्यालयका इन्स्पेक्टर देवेन्द्रबहादुर शाहसँग सम्पर्क गर्दा उहाँले सम्भावित एवम् शङ्कास्पद सबै ठाउँमा खोजी गर्दा पनि राईको पत्ता नलागेको बताउनुभयो ।
उहाँले जनप्रतिनिधिसहितको सहयोगमा भोटेकोशीको खोला किनारादेखि सम्भावित अन्य ठाउँमा खोजी गर्दा पनि नभेटिएको, मोवाइलको अन्तिम लोकेशन जिरोकिलोसम्म देखिएकाले काभ्रेको प्रहरीलाई समेत खबर गरी खोजी भइरहेको जानकारी दिनुभयो ।
शङ्कास्पद व्यक्तिहरू, बेपत्ता राईसँग नजिक रहेका भनिएका सृष्टिदेखि राकेश श्रेष्ठ लगायत अन्यसँग सोधपुछ र निगरानी गरिरहेको जानकारी दिँदै खोजी कार्य जारी रहेको इन्सपेक्टर शाहाले जानकारी दिनु भयो ।
रमेश गिरी
सम्बन्धित समाचारहरू
जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर…
हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–६ बेल्टारका १९ वर्षीय अजय राईलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ…
हत्या घटनाका आरोपित गिरफ्तार
बाणगंगा नगरपालिका– ६ की १८ वर्षीया अन्जनी थारू र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला कञ्चन गाउँपालिका– २ का २२ वर्षीय मोहन थारूलाई जेठ १८ गते…
घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी
कौडेना गाउँपालिका–५ मोतिपुरकी २४ वर्षीया लिलम देवी महतोलाई जेठ १० गते पति २६ वर्षीय विनोद महतो र ससुरा ५२ वर्षीय जोगिन्द्र महतोले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला…