बाल सुधार गृहलाई बाल मैत्री सुधार गृह बनाउन पहल गर्छुः प्रमुख जिल्ला अधिकारी पाण्डे

  ०७८ चैत १४ गते

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बाल सुधार गृहलाई बाल मैत्री सुधार गृह बनाउन पहल गर्ने बताउनु भएको छ ।

हेटौँडा उपमहानगरपालिका–१९ स्थित थानाभर्‍याङमा रहेको बाल सुधार गृहको अनुगमनका लागि चैत १३ गते गएका इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारी, एडभोकेसी फोरमका कार्यकारी निर्देशक ओमप्रकाश सेन ठकुरी, अधिवक्ता कुमारप्रसाद थपलिया लगायतको टोलिसँगको छलफलका क्रममा पाण्डेले सो कुरा बताउनु भएको हो ।

Photo2makawanpur20281228

प्रमुख जिल्ला अधिकारी पाण्डेले बाल सुधार गृहमा देखिएका समास्या समाधानका लागि पूर्वाधार उपलब्ध गराउँदै जाने त्यसका लागि प्रयाप्त खेल मैदान, पुस्ताकालय, अध्ययनरत बालकका लागि शिक्षकको उपलब्धता, स्वास्थ्य उपचारको प्रयाप्तता र बालबालिकाको क्षमता अभिवृद्धि गर्दै विगतका गल्ती नदोहोर्‍याने प्रतिवद्धता सहित परिवारमा पुनस्र्थापनाका लागि कार्य गर्ने बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले बाल मैत्री प्रयोजनका लागि प्राप्त साधन स्रोतको दुरुपयकोग नहोस भन्नेमा पनि ध्यानाकर्षण गराउनु भयो ।

उहाँले नियन्त्रण भन्दा पनि नियमन आवश्यक रहेको र बाल सुधार गृह सञ्चालनको नियामावलीको सही सदुपयोग हुनुपर्ने धारणा राख्नु भयो ।

यसैगरी हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामाले बाल गृहमा रहेका बालकहरूको स्वास्थ्य उपचारका लागि पालिकाले सहयोग गर्दै आएको बताउनु भयो ।

उहाँले बाल सुधार गृहमा रहेका बालकहरूका लागि कोभिड–१९ का कारण व्यवधान हुँदा प्रविधिको माध्यमबाट (भर्चुअल) कानुनी परामर्श उपलब्ध गराउन सकिने बताउनु भयो ।

उपप्रमुख लामाले १५/२० बालक राखेर सुरु गरिएको बाल सुधार गृहमा भवन, फर्निचर, कर्मचार, सुरक्षा चुनौति लागयतको समस्या रहेको अवस्थामा हाल ५०/६० जना राख्ने क्षमताको भवनसहितको पूर्वाधार तयार भए पनि आवश्यकता बढ्दै जाने रहेछ त्यसैले काम गर्दै गएपछि व्यवस्थापन गर्न सकिने रहेछ भन्ने विश्वास व्यक्त गर्नु भयो ।

अनुगमनका क्रममा ११ वर्ष उमेरदेखि १८ वर्ष उमेरसम्मका बालक सुधार गृहमा रहनु पर्नेमा २८ वर्ष उमेरसम्मको उमेर पुग्दा पनि बाल सुधार गृहमै रहेको पाइएको छ ।

१८ वर्ष उमेर पहिलेको दण्ड सजायमा बाल सुधार गृहमा पुगेको व्यक्तिहरूलाई लामो समयको कैद सजायको फैसला हुँदा १८ वर्ष कटेपछि पनि बाल सुधार गृहमै रहने ऐनका कारण यस्तो भएको पाइयो । हाल सुधार गृहमा ५६ जना बालक रहेकोमा २५ जना भन्दा बढी १८ वर्ष उमेर माथिको रहेका छन् ।

अनुगमन टोलीले यस विषयमा प्रमुख जिल्ला अधिकारी, हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक मिना लामा, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङको ध्यानाकर्षण गराइएको थियो ।

Photo1makawanpur20281228

बाल सुधार गृह सञ्चालनको जिम्मेवारी सहितका सुरुका दिनको स्मरण गर्दै निर्वतमान प्रमुख रामप्रसाद सुवेदीले बाल सुधार गृहमा भवन, पानी, शौचालय, सुत्नको लागि बेड समेतको अभावको अवस्थालाई पार लगाउँदै यो अवस्थामा आइपुग्दा पनि बाल मैत्री सुधार गृहको अवस्थामा पुग्न नसकेको बताउनु भयो ।

उहाँले यति हुँदाहुँदै पनि सुधार गृहमा रहेका बालकलाई असल नागरिक बन्न र बानी व्यवहार सुधार गर्नको लागि सुधार गृह प्रसाशन सदैव चनाखो रहेको बताउनु भयो ।

उहाँले सुधार गृहमा रहेका बालकहरूमा छाला जन्य रोग देखा परेको हुँदा सो को लागि दक्ष चिकित्सकको परामर्श आवश्यक रहेको बताउनु भयो ।

सुधार गृहमा हालै सरुवा भएर आउनु भएका प्रमुख प्रदिप गौतमले सुधार गृहमा आउँदा १८ वर्ष मुनी रहेका बालकहरू सो उमेर पार गरेपछि पनि बाल सुधार गृहमै रहँदा सुरक्षा चुनौतिको महसुस गरेको बताउनु भयो ।

उहाँले ११ वर्ष उमेरदेखि २८ वर्ष उमेरसम्मका व्यक्ति सुधार गृहमा हुँदा कम उमेरका बालकमा मानसिक त्रास देखिएको बताउनु भयो ।

अनुगमनकै क्रममा एड्भोकेसी फोरम नेपालेका कार्यकारी निर्देशक ओमप्रकाश सेन ठकुरीले बाल सुधार गृहलाई प्रविधिमैत्री बनाउन र कोभिड–१९ को सङ्क्रमण कायमै रहेकाले भर्चुअल इजलासलाई सहयोग पुर्‍याउनको लागि ल्यापटप, सिसी क्यामरा, साउण्डबक्स, राउटर तथा नेटको लागि आवस्यक सामाग्री हस्तान्तरण गरेको थियो ।

साथै इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारीले बाल गृहको पुस्ताकालयको लागि नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२, मानव अधिकार स्थिति सूचक, प्राची, बाल अधिकार शिक्षा लगायतका पाठ्य सामग्री सुधार गृहका प्रमुख प्रदिप गौतमलाई हस्तान्तरण गर्नु भएको थियो ।

भण्डारीले बाल सुधार गृहमा आउने बालबालिकालाई १८ वर्ष उमेर पुगेको र ६ महिना भन्दा बढी कैद सजाय भुक्तान गर्न बाँकी रहेको अवस्थामा जिल्ला कारागार शाखालाई हस्तान्तरण गर्ने नियमित प्रकृयासहितको कार्यविधि बनाउन आवश्यक रहेको बताउनु भयो ।


पुष्पराज अधिकारी