बाल सुधार गृहमा कैदीबन्दीहरूबीच झडप हुँदा चार जना घाइते

  ०८१ असार २५ गते

डुडुवा गाउँपालिका-६, आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा कैदीबन्दीहरूबीच ०८१ असार २४ गते झडप हुँदा चार जना घाइते भएका छन् ।

बाल सुधार गृहका प्रमुख विमला काउचामगरका अनुसार बाल सुधार गृहमा खाना खाने विषयमा कैदबन्दीहरूबीच झडप भएको थियो । उक्त झडप हुँदा ६० जना कैदबन्दीहरू ताल्चा फुटाएर बाहिर आएका थिए ।

बाहिर आएका ५८ जना कैदीबन्दीहरूलाई नियन्त्रणमा लिइसकेको र दुई जना फरार कैदीबन्दीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायण डाँगीले इन्सेकलाई जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयका एसपी तुलबहादुर कार्कीका अनुसार चार जनाको समूहले चौकीदारलाई कुटपिट गर्ने क्रममा झडप सुरु भएको थियो । चौकीदारको व्यवहार मन नपरेर उक्त समूहले योजना बनाएर कुटपिट गरेको उहाँको भनाइ छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।


ध्रुबराज शर्मा