बाल सुधार गृहको व्यवस्थापन हुन नसकेपछि बालबालिका समस्यामा

  ०७८ पुस २९ गते

बाल न्याय सम्पादन कार्यविधि नियमावली २०७६ को परिच्छेद–२ को ६ मा बाल सुधार गृह निगरानी कक्षमा स्वच्छ पिउने पानी, पोषणयूक्त खानेकुरालगायतको न्यूनतम सुविधाको व्यवस्था हुनु पर्ने उल्लेख गरिएको भएपनि बाल सुधार गृह, डोटीमा यी सेवा सुविधाबाट बालबालिकाहरु वञ्चित हुँदै आएका छन् ।

२५ जना क्षमता रहेको बाल सुधार गृह, डोटीमा २७ जना बालकहरुलाई राखिएको भएपनि खाना, बस्न, शौचालय जान, लुगा धुन, नुहाउन पानीको समस्या हुने गरेको बाल सुधार गृहमा राखिएका आदर्श गाउँपालिकाका १६ वर्षीय बालकले गुनासो गर्नु भयो ।

उहाँले क्षमता भन्दा बढी आश्रित बालकहरु राख्दा चिसोको समयमा ओडने ओछ्याउने लुगाको समेत अभाव हुने गरेको बताउनु भयो ।

क्षमता भन्दा बढी बालकहरु राखेका कारण शौचालय जान समेत लाइनमा बस्नु पर्ने बाध्यता रहेको बाल सुधार गृहमा राखिएका जोरायल गाउँपालिकाका १५ वर्षीय बालकले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘चार ओटा कोठा मात्रै रहेको बाल सुधार गृहमा एउटै कोठामा ११ जनालाई राखिएको छ ।  खेलकुदका सामग्री, पुस्तकालयको व्यवस्थापन, खानेपानीको व्यवस्थापन गरी दिन पटकपटक आग्रह गरेउ । अहिलेसम्म सुनवाइ हुन सकेको छैन् ।’

बाल सुधार गृह, डोटीका प्रमुख सानुमाया लिम्बु गुरुङले क्षमता भन्दा बढी बालक आश्रीत रहेका कारण समस्या भएको र बाल सुधार गृहमा कर्मचारी अभावका कारण पनी व्यवस्थापनमा थप जटिलता उत्पन्न भएको बताउनु भयो ।

उहाँले पिउने पानी, खेल मैदानलगायतका समस्या समाधान गर्नका लागि दिपायल सिलगढी नगरपालिकासँग आग्रह गरिसकिएकोले छिटो भन्दा छिटो समस्या समाधान हुने बताउनु भयो ।


गणेश जोशी