बाल सुधारगृहबाट दुई बालक फरार

  ०८१ भदौ ५ गते

बाल सुधारगृह, विराटनगरबाट दुई जना फरार भएको सुधारगृह प्रशासनले जनाएको छ ।

फरार हुनेमा कर्तव्य ज्यान तथा डाँका मुद्दामा दोषी ठहर भएका  सुनसरीको कोशी गाउँपालिका-२ का १६ वर्षीय बालक र अर्का बराहक्षेत्र नगरपालिका-११ घर भएका बालक भदौ ४ गते फरार भएको बाल सुधारगृहका प्रमुख मिलन चौहानले बताउनु भयो ।

कानुनी विवादमा परेर अदालतको फैसला र आदेश अनुसार विराटनगरको बाल सुधारगृहमा राखिएका दुई जना बालक फरार भएका हुन् ।

सुधारगृहका प्रमुख मिलन चौहानका अनुसार भागेका सुनसरीको कोशी गाउँपालिका-२ का बालकलाई अदालतले कर्तव्य ज्यान तथा डाँका मुद्दामा अदालतले ०७९ माघ १६ गते पुर्पक्षका लागि बालसुधार गृहमा पठाउन आदेश दिएको थियो । अदालतले मुद्दाको किनारा लगाउँदा १२ वर्ष ६ महिना कैद सजाय हुने फैसला गरेको थियो । त्यस्तै, बराहक्षेत्र नगरपालिका-११ घर भएका बालकलाई बलात्कार मुद्दामा अदालतले ०८१ असार २८ गते पुर्पक्षका लागि सुधारगृहमा पठाउन आदेश दिएको थियो ।

सुधारगृहका प्रमुख चौहानले भदौ ४ गते दिउँसो ३ बजेतिर दुई जना फरार भएको बताउनु भयो । सुधारगृहभित्र रहेको विद्यालयमा अतिरिक्त क्रियाकलाप चलिरहेका बेला पर्खाल नाघेर दुवै जना फरार भएको चौहानको भनाइ छ ।

सुधारगृहमा दीपज्योति माध्यमिक विद्यालय छ । सुधारगृहभित्र राखिएकाहरु त्यही विद्यालयमा पढ्छन् । त्यहाँ प्रत्येक मंगलबार मनोरञ्जनसहितको अतिरिक्त क्रियाकलाप हुनेछ ।

‘सुधारगृहभित्र प्रत्येक मंगलबार ‘बुक फ्री डे’ हो । त्यो दिन अतिरिक्त क्रियाकलाप हुन्छ । सुधारगृहभित्र रहेकाले कार्यक्रममा आआफ्ना प्रतिभाहरु देखाउँछन्,’ चौहानले भन्नुभयो, ‘तर, मनोरञ्जनात्मक कार्यक्रम चलिरहेका बेला सुधारगृहको पर्खाल नाघेर दुई जना भागेको पाइयो । प्रहरीसँग समन्वय गरेर खोजी जारी राखिएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले सबैतिर समन्वय गरेर सुधारगृहबाट फरार भएकाको खोजी तीव्र पारिएको बताउनु भएको छ ।

सुधारगृहमा क्षमताभन्दा बढीलाई राखिएको छ । ५० जनाको क्षमता रहेकोमा २ सय ३८ जना छन् । सुधारगृहभित्र हाल १८ वर्षमाथिका १ सय २४ जना वयस्क छन् ।


विनोद सुवेदी