बाल सुधारगृहबाट छुट्दै बालबालिका

विभिन्न अपराधमा सङ्लग्न रहेको अभियोगमा अदालतको आदेश अनुसार देशभरका विभिन्न बाल सुधार गृहमा रहेका बालबालिकाहरू छुट्न थालेका छन् ।
नेपाल सरकारको सहयोगमा गैरसरकारी संस्था युसेपद्धारा सञ्चालनमा रहेका चार ओटा बाल सुधार गृहबाट अदालतको आदेशपछि चैत १५ गते देखि चैत २० गतेसम्म १ सय २५ जना बालबालिका छुटेका छन् । जसमध्ये ‘ग’ श्रेणीको बालसुधार गृह अन्र्तगत रहेको भक्तपुरको सानोठिमी स्थित बालसुधार गृहबाट मात्रै ५४ जना बालबालिका छुटेका छन् ।
कूल १ सय १० जनाको क्षमता रहेको यो बालसुधार गृहमा २ सय ६४ जना बालबालिकाहरू राखिएकोमा अदालतको आदेशपछि ५४ जना बालबालिका छुटेको बाल सुधार गृहका उपनिर्देशक केशव सुवालले जानकारी दिनुभयो । सानोठिमी स्थित बालसुधार गृहमा अझै कैद भुक्तान एवम् थुनुवा गरि २ सय १० जना बालबालिका रहेको उहाँले जानकारी दिनुभयो ।
बागमती प्रदेशका १३ जिल्लाका बालबालिका राख्ने भनिए पनि हाल यहाँ ४४ जिल्लाका बालबालिका रहेका छन् । बसाई सराईका कारण उपत्यकामा विभिन्न जिल्लाबाट आउनेहरू बढी भएको र उपत्यकामै अपराध भएपनि बाहिर जिल्लाका बालबालिकाको सङलग्न बढी रहेकाले बागमती प्रदेशभन्दा बाहिर जिल्लाका बालबालिका पनि यही सुधार गृहमा राख्न थालिएको हो । बाल सुधार गृहमा विशेष गरि सिन्धुपाल्चोक, रामेछाप, रसुवा, नुवाकोट, काभ्रेका बालवालिका बढी रहेका उपनिर्देशक सुवालले जानकारी दिए ।
अदालतको आदेशपछि कास्कीबाट १५ जना, विराटनगरबाट २१ जना र बाँकेबाट ३५ जना छुटेको उहाँले जानकारी दिनुभयो । उपनिर्देशक सुवालका अनुसार कास्कीमा ५० जनाको क्षमता रहेपनि अझै ६६ जना, विराटनगरमा ५० जनाको क्षमता रहेपनि अझै १ सय ४४ जना र बाँकेमा ५० जनाको क्षमता रहेपनि अझै १सय सात जना बालबालिका रहेका छन् । छुटेका बालबालिकालाई आवश्यक परेको र खोजेको बेलामा हाजिर गराउने गरि हाललाई छोड्ने आदेश अनुसार परिवारको जिम्मा लगाएर पठाइएको छ ।
महान्यायाधिवक्ताको कार्यालयका अनुसार अन्य बालसुधार गृहहरू मध्ये रूपन्देहीबाट १८, डोटीबाट १७, पर्साबाट १२ र मकवानपुरबाट पाँच जना बालबालिकालाई पनि अभिभावकको जिम्मा लगाएर छाडिएको छ ।


रमेश गिरी