बाल विवाह घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

  ०७३ फागुन २ गते

१५ वर्षीया बालिकालाई गुल्मी जिल्ला खड्ककोट गाविस-४, उर्लेनीका २१ वर्षीय पवन ढकालविरुद्ध आवश्यक कारवाहीको माग गर्दै पीडित बालिकाकी आमाले फागुन १ गते जिल्ला प्रहरी कार्यालय, पर्वतमा उजुरी दिएकी छन् ।

पीडित बालिकालाई गत माघ २१ गते मकैको सातुमा लठ्याउने पदार्थ खुवाएर माघ २२ गते विवाह गरेको पीडित बालिकाकी आमाले बताएकी छन् ।

घरबाट भगाएर लगेको चार दिनपछि ०७३ साल माघ २४ गते पीडित बालिकाले आमालाई फोन गरेर जानकारी गराएपछि पीडित पक्षले फलेवास प्रहरी चौकीमा उजुरी दिएका थिए ।

फलेवास प्रहरी चौकीले माघ २५ गते आरोपितलाई कार्यालयमा झिकाएर सम्झाइबुझाइ आरोपित र पीडित दुवै पक्षलाई आआफ्नो अभिभावकको जिम्मा लगाएर पठाएको पीडित बालिकाकी आमाले बताएकी छन् । उनले भनिन्-'आफ्नी छोरीविरुद्ध यति ठूलो अपराध गर्नेलाई त्यसै उम्किन दिनु हुन्न भनेर आफूले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन आएकी हुँ ।'

पीडित पक्षको उजुरी पश्चात् आरोपितहरूलाई कार्यालयमा झिकाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्वतका असई एकनारायण खनालले बताए ।


किशोर सापकोटा