बाल विवाहको अन्त्य हुन सकेन्, २ सय ५६ जना महिला २० वर्षको उमेरमै गर्भवती !

  ०८१ असोज ३० गते

जिल्लामा २० वर्ष उमेर नपुग्दै गर्भवती हुने महिलाको सङ्ख्या कायमै रहेको पाइएको छ । स्वास्थ्य कार्यालय, बैतडीको आर्थिक वर्ष ०८० / ०८१ को तथ्याङ्क अनुसार जिल्लामा २ सय ५६ जना महिला २० वर्ष उमेर नपुग्दै गर्भवती भएको पाइएको छ । जिल्लामा एक वर्षको अवधिमा कम उमेरमा गर्भवती हुने महिलाको सङ्ख्या २ सय ५६ रहेको छ भने सुत्केरी हुनेको सङ्ख्या २ सय २३ जना छन् ।

२० वर्ष उमेर नपुग्दै गर्भवती हुने महिला मध्ये पनि दक्ष प्रसूतीबाट प्रसूती सेवा लिने १ सय ४२ जना, अन्य स्वास्थ्यकर्मीहरु प्रसूती सेवा लिने ६५ जना र घरमै प्रसूती हुने उमेर नपुगेका दुई जना रहेको स्वास्थ्य कार्यालय, बैतडीका सूचना अधिकारी विपीन लेखकले बताउनु भयो ।

उहाँले भन्नुभयो– ‘कलिलो उमेरमै गर्भवती हुँदा आमामा बिभिन्न किसिमका जटिलता आउने गर्दछन । सुत्केरी भइसकेपछि पनि पाठेघर खस्ने, पिसाब चुहिरहने र बच्चा ख्याउटे हुने जस्ता दर्जनौँ समस्या निम्तिन सक्ने खतरा हुन्छ ।’ पाठेघर वयस्क नभई जन्मिएका बच्चालाई श्वास फेर्न गाह्रो हुने, तापक्रम सन्तुलित बनाउन कठिन हुनेदेखि रगतमा सङ्क्रमण हुनेजस्ता समस्या देखिने भएकाले उमेर नपुग्दै बच्चा जन्माउदा आमा र बच्चा दुबैलाई उत्तिकै अप्ठ्यारो हुने उहाँले बताउनु भयो ।

तुलनात्मक रुपमा कम उमेरमा आमा बन्ने महिलाको सङ्ख्या विगत भन्दा घटेको देखिएता पनि समग्र अवस्था हेर्दा अझै पनि सानो उमेर मै विवाह हुने देखिएकोले यसमा धेरै सुधार गर्नु पर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

अपरिपक्व उमेरमा गर्भवती हुँदा, एउटा बच्चा जन्मेको १८ महिना नपुग्दै पुनःगर्भवती हुँदा, पर्याप्त पौष्टिक आहारको कमी हुनुले महिला तथा जन्मने बच्चाको स्वास्थ्य नै खतरामा पर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

नेपालको मुलुकी देवानी संहिता २०७४ ले २० वर्ष पूरा नभई विवाह गर्न बन्देज गरेको छ । यद्यपि किशोरी अवस्थामै बिवाह गरेर बच्चा जन्माउनेहरूको सङ्ख्या भने घटेको छैन् । कानुनले विवाह गर्ने उमेर तोके पनि उमेर नपुग्दै गर्भवती हुने किशोरीको सङ्ख्या भने जिल्लामा घट्न नसकेको स्वास्थ्यकर्मी सोम कार्कीले बताउनु भयो ।

नेपालमा हरेक पाँच जना सुत्केरी मध्ये एक जना कम उमेरको हुने प्रसूती गृहको तथ्याङ्कले देखाएको छ । सुरक्षित गर्भपतन सेवालाई अझै पनि सामाजिक लाञ्छनाको रूपमा हेरिने भएकाले किशोरीहरूलाई गर्भपतन गराउन सामाजिक अवरोध रहेकाले पनि यो समस्या बढदै गएको जनस्वास्थ्य अधिकृत तिर्थराज भट्टले बताउनु भयो ।


नरी बडु