बाल विवाहका कारण विवाह गर्ने उमेरमा तीन सन्तान

आफ्नो बाल्यकाल पत्तो नपाएकी निमछिकी शेर्पा आफैँले जन्माएका तीन बच्चासँगै खेल्दै/रमाउँदै दिन कटाउने गर्छिन् । १३ वर्षमा विवाह गरेर १४ वर्षमा आमा बनेकी उनी पाँच वर्षीया छोरी र दुई छोराको साथमा 'हुर्किँदै' छिन् । १९ वर्षीया उनी आफैँ 'बालापन'मा छिन् । निरक्षर उनले अज्ञानताका कारण १३ वर्षमै बालविवाह गरेको बताउँछिन् । आमामा हुनुपर्ने गुण उनमा कमै छ तर १७ वर्षमा उमेरमा तीन बच्चाका आमा बनिसकेकी थिइन् ।

नाबालक छोराछोरीलाई पोषणयुक्त खानेकुरा खुवाउने र आफूले पनि पोषिलो खाना खानुपर्छ भन्ने ज्ञान उनमा छैन । उनको सरल बुझाइमा स्तनपान गराउनु नै आमाको जिम्मेवारी हो र उनले त्यसै गर्दै आएकी छन् । साविक स्याबुन-५, देउराली सङ्खुवासभाका फुर्तेम्बा शेर्पासँग २०६८ सालमा निमछिकीको विवाह भएको थियो । उनका पति २ वर्ष ६ महिनादेखि खाडी मुलुकमा छन् । पाँच वर्षीया छोरी निमलमु, तीन वर्षीय छोरा तेन्जी र डेढ वर्षीय छोरा लाक्पाको जिम्मेवारी एक्लो निमछिकीको काँधमा छ ।

जीविकाका लागि दिनभर मजदुरी र साँझबिहान घरको कामले व्यस्त बन्ने उनी बालबच्चाको स्याहारसुसारमा समय दिन पाउँदिनन् । यस्तो लाग्छ 'भगवान'ले नै उनका छोराछोरी हुर्काइरहेका छन् ।

तीन बच्चासँग दिन गुजार्दै आएकी उनी आफूलाई पतिले कुनै पनि सहयोग नगरेको गुनासो गर्छिन् । 'बच्चाहरू खाना खान जान्दैनन्, आफैँले खुवाउनुपर्छ ।'-उनले भनिन् । आफूले नपढे पनि छोराछोरीलाई पढाउने उनको इच्छा छ । पति पनि विदेशमा भएकाले उनका बालबच्चाको भविष्य अन्योलमा छ । हाल उनले ठूली छोरीलाई डेढ घण्टा टाढाको शिव प्राथमिक विद्यालयमा पठाउन सुरू गरेकी छन् ।

निमाछिकी त जिल्लाको एक उदाहरण मात्रै हुन् । पाँचखपन नगरपालिका, धर्मदेवी नगरपालिका, भोटखोला गाउँपालिका र सिलिचोङ् गाउँपालिका क्षेत्रमा अझैपनि बालविवाह गर्ने प्रचलन कायमै छ । छोरीलाई सानो उमेरमै विवाह गरेर पठाउँदा माइतीले बोझ कम भएको ठान्छन् । छोरीकै कारणले समाजमा बदनाम हुनुपर्ला की भन्ने डर हट्ने भन्दै परिवारका सदस्यहरूले कतै समस्या त कतै बाध्यताको नाममा आफ्ना उमेर नपुगेका छोरीहरूको विवाह गर्दै आएका छन् ।

बालविवाहकै कारणले पछिल्लो समय बहुविवाहले समेत प्रश्रय पाउन थालेको छ । उमेर नपुग्दै विवाह गरेका 'बालक'हरूले उमेर पुगेपछि अर्को विवाह गर्दा विद्यालय जाने उमेरका बालिकाहरू सानो उमेरमा नै बहुविवाहबाट पीडित हुने गरेका छन् ।

महिला तथा बालबालिका कार्यालय र जिल्ला बाल क्लब समन्वय समिति सङ्खुवासभाले ०७४ सालको चैत महिनामा जिल्लाका केही स्थानीय तहमा बालविवाहको अवस्थाको बारेमा अध्ययनसमेत गरेको थियो ।

कार्यालयको तथ्याङ्क अनुसार धर्मदेवी नगरपालिकामा मात्र १८ वर्षउमेर नपुगी विवाह गर्ने बालबालिकाको सङ्ख्या ३१ रहेको छ । त्यस्तै पाँचखपन नगरपालिकाको स्याबुनमा पनि बालविवाह गर्नेहरूको सङ्ख्या उल्लेख्य रहेको छ । कार्यालयको तथ्याङ्कमा गत आर्थिक वर्षमा स्याबुनमा ११ जना बालक र २१ जना बालिकाले बालविवाह गरेको देखिन्छ । त्यस्तै सिलिचोङ गाउँपालिकामा पनि बालविवाह गर्ने गरेको पाइएको छ । महिला तथा बालबालिका कार्यालय सङ्खुवासभाको तथ्याङ्क अनुसार सिलिचोङ गाउँपालिकाको १, २ र ५ नम्बर वडामा आठ जना बालक र १६ जना बालिकाले बालविवाह गरेका छन् ।

बालविवाह सुन्नेहरूको लागि सामान्य भएपनि भोग्नेहरूको लागि निकै पीडादायी र डरलाग्दो समस्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष खड्काको भनाई छ । आर्थिक सामाजिक र प्रजनन् स्वास्थ्यका लागि बालविवाह निकै गम्भीर विषय भएकाले यसलाई निर्मुल पार्नको लागि सरकार, सरोकारवाला र परिवार सबै सचेत हुनुपर्ने उनको भनाई छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले आमा सुरक्षा र परिवार नियोजन कार्यक्रमका लागि दिँदै आएको कार्यक्रमसमेत सहर केन्द्रित हुँदा गाउँगाउँमा निमछिकीजस्ता बालिका आमाको सङ्ख्या बढ्दो छ । बाल्य अवस्थामा नै आमा हुँदा पाठेघरलगायत विभिन्न समस्याले मातृ मृत्युदर पनि बढ्दो रहेको सरोकारवालाहरू बताउँछन् ।

बालविवाह व्याप्त भए पनि यस बारेमा प्रहरीमा अहिलेसम्म उजुरी नआएको सिलिचोङ गाउँपालिका स्थित ताम्कु प्रहरी चौकीले जनाएको छ । भोटखोला गाउँपालिका कार्यालयमा पनि अहिलेसम्म यसबारेमा कुनै उजुरी नआएको गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक पान्जम भेच्याब भोटेले बताइन् । 'हामीले पनि गाउँघरमा बालविवाह हुने गरेको देखेका छौँ ।'-उनले भनिन्-'यसबारेमा उजुरी आए बालविवाह नियन्त्रण गर्ने गरी कानुन सम्मत हिसावले अघि बढ्छौँ ।'


बाबुराम बास्तोला