बालुवाटारमा प्रदर्शन गर्न पुगेका रास्वपाका २७ जना कार्यकर्ता गिरफ्तार

  ०८१ कात्तिक १४ गते

बालुवाटार क्षेत्रमा प्रदर्शन गर्न भेला भएका राष्ट्रिय स्वतन्त्र पार्टीका २७ जना कार्यकर्तालाई प्रहरीले कात्तिक १३ गते गिरफ्तार गरेको छ । पार्टी सभापति रवि लामिछाने सहकारी ठगी आरोपमा गिरफ्तार परेपछि रास्वपाले सरकारले राजनीतिक प्रतिशोध स्वरुप उनको गिरफ्तार गरेको भन्दै बालुवाटारमा विरोध प्रदर्शनको आयोजना गरेको थियो ।

गिरफ्तार पर्नेमा रास्वपाका सांसद अशोककुमार चौधरी, काठमाडौँका नवराज ढकाल, सोही ठाउँका रक्षा रायमाझी, काठमाडौँ वडा नं ७ का नवराज ढकाल, ताप्लेजुङ जिल्ला सभापति वीरेन्द्रकुमार श्रेष्ठ, काठमाडौँ जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, झापाका सुरेश पोखरेल, सिन्धुपाल्चोकका ध्रुव ढकाल, सोही ठाउँका दयाराम नेपाल, सोही ठाउँका उमेश लामा, गोरखाका प्रकाश लामिछाने, सोही ठाउँका नवराज मुडबरी, गोरखाका प्रकाश लामिछाने, नुवाकोटका साहिल प्रिया, ललितपुरका सबी खड्का, भक्तपुरका शैलेन्द्र खत्री र तनहँुका खुसिराम कैनी रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनु भयो ।

त्यसैगरी पुकार बम, मकवानपुर बकैया गाउँपालिका सभापति अमर दङ्गाल, हेटौँडा उपमहानगर सभापति धु्रबबहादुर विष्ट, बौद्ध बस्ने हरिशचन्द्र लामिछाने, मकवानपुर क्षेत्रीय सभापति सुरेश थापा र केन्द्रीय सदस्य रामकृष्ण भट्ट्राईलाई गिरफ्तार गरिएको कार्यवाहक महामन्त्री बुर्लाकोटीले बताउनु भयो ।

प्रदर्शनमा सहभागी हुन बालुवाटारस्थित नेपाल हाउसमा पार्टीका नेता र कार्यकर्ताहरु भेला भएका थिए सो क्रममा प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन नगर्न आग्रह गरेको थियो । प्रहरीको आग्रह विपरीत प्रदर्शनमा सहभागी भएका सो पार्टीका कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरी साँझ रिहा गरेको थियो ।


पार्वती साउद