बालिका हत्या घटनाका आरोपित ‘माता’ गिरफ्तार

  ०७८ पुस २५ गते

चौतारा साँगाचोकगढी नगरपालिका–२ घर भइ हाल मध्यपुर थिमी नगरपालिका–७ धुन्चेपाखा बस्दै आएकी १४ वर्षीया बालिका रोशनी श्रेष्ठको हत्याको आरोपमा नागार्जुन नगरपालिका–१ रानीवनस्थित पानी ट्याङ्कीनजिकै रहेको झारफुक गर्ने कथित ‘माता’ भनिने ४८ वर्षीया उमा शाही ठकुरीलाई प्रहरीले पुस २४ गते गिरफ्तार गरेको छ ।

लामो समयदेखि टाउको दुख्ने, हातखुट्टा नचल्ने र काम्ने लगायतको समस्या भएपछि पीडित बालिकालाई कथित माता ठकुरीले झारफुकको नाममा त्रिसुल लगायतले कुटपिट गर्दा गम्भीर घाइते भएकी थिइन् ।

पीडित श्रेष्ठलाई उपचारको लागि पुस २४ गते मनमोहन अस्पताल स्वयम्भूमा लगिएकोमा चिकित्सकले पीडितको मृत्यु भइसको जनाएको काठमाडौँ प्रहरी परिसरका एसपी दिनेश मैनालीले बताउनु भयो ।

एसपी मैनालीका अनुसार तान्त्रिक उपचारका क्रममा कथित माताले आफूलाई दैवी शक्ति प्राप्त भएको भन्दै त्रिशुलले बालिकालाई कुटपिट गर्दै शरीरका विभिन्न ठाउँमा प्रहार गरेको पाइएको र सोही कारण बालिकाको मृत्यु भएको हो । मैनालीका अनुसार त्रिशुल प्रहारबाट पीडितको शरीरका विभिन्न भागमा चोटपटक लागेको थियो ।

घटनापछि पीडितकी आमाले महानगरीय प्रहरी वृत स्वयम्भुमा पुस २४ गते उजुरी गरेपछि प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरी कर्तव्य ज्यान मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पुस २५ गते पाँच दिनको म्याद थप गरी अनुसन्धानका लागि प्रहरीको स्वयम्भु वृत्तको हिरासतमा राखेको छ । शवको पोस्टमार्टम त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुस २५ गते गरियो ।


विमल पौडेल