बालिका बेपत्ता पारेको आरोपमा वडा सदस्यविरुद्ध प्रहरीमा उजुरी

  ०८० माघ १७ गते

सिंजा गाउँपालिका – ६ जोडु गाउँकी १४ वर्षीया रमिशा बुढालाई माघ १० गते बेपत्ता पारेको आरोपमा सोही गाउँपालिका – ५ गोरा गाउँकी वडा सदस्य ४० वर्षीया पाल्ती रावलविरुद्ध प्रहरीमा उजुरी दिनु भएको छ । बालिकाकी आमा विस्नकली बुढाले माघ १५ गते शनिगाउँ प्रहरी चौकी नराकोटमा उजुरी दिनु भएको हो ।

पीडित बालिका रमिशाकी आमा बुढाका अनुसार छोरी भेडा चराउन गएको जंगलमा गएको बेला बेपत्ता पारेको आरोप लगाउनु भएको छ । तीनओटा भेडा खोसेर छोरीलाई बेपत्ता पारिएको आमा बिस्नकलीको भनाइ छ । एउटा भेडाको मूल्य १५ हजार रुपैयाँ पर्ने रमिशाका बाजे अम्रिते रावतले बताउनु भयो । बालिका रमिशा माध्यमिक विद्यालय जोडुमा कक्षा ७ मा अध्ययनरत छिन् ।

बालिकाकी आमाले वडा सदस्य ४० वर्षीया पाल्ती रावल र सोही ठाँउकी ४१ वर्षीया मुनुकली रावलविरुद्ध  दुई जनाको नाममा उजुरी दिनु भएको शनिगाउँ प्रहरी चौकीका हवल्दार सुरेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

शनिगाउँ प्रहरी चौकीबाट बालिका बेपत्ता भएको घटनाका विषयमा जानकारी आएको छ । घटनाको  खोजतलास, सोधपुछ र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर उमेश चन्दले बताउनुभयो ।


मानदत्त रावल