‘बालिका आमा’ को सङ्ख्या बढ्दै, एकै वर्षमा ९० किशोरीले जन्माए सन्तान

  ०८१ असोज २५ गते

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरको दफा १ सय ७३ मा ‘बाल विवाह गर्न नहुने’ सम्बन्धी व्यवस्था उल्लेख छ । जसको दफा १ मा ‘विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले  विवाह गर्न वा गराउन हुँदैन’ भनिएको छ । सोही दफाको उपदफा २ मा ‘उपदफा (१) विपरित भएको विवाह स्वतः बदर हुनेछ ।’ उपदफा ३ मा उपदफा (१) बमोजिमको कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपियाँसम्म जरिबाना हुनेछ’ भन्ने छ।

तर, पर्वत जिल्लाको अवस्था हेर्दा कानुनी व्यवस्थालाई उल्लङ्घन गरेर २० वर्ष मुनी नै किशोरीहरूको विवाह हुने क्रम रोकिएको छैन । स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रविण शर्माका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार जिल्लामा ९० जना महिलाले २० वर्ष भन्दा कम उमेरमा नै बच्चा जन्माएका छन् । २० वर्ष मुनीको उमेरमा विवाह भएको भन्दै उजुरी दिने वा कानुनी व्यवस्थाका बारेमा चासोका साथ कुराकानी हुने गरेको देखिएको छैन । अवस्था हेर्दा २० वर्षभन्दा कम उमेरमा विवाह गर्नेहरू नरहेको जस्तो देखिएको भए पनि ९० जना किशोरीहरूले २० वर्ष मुनी नै सुत्केरी हुनुले जिल्लामा कानुन उल्लङ्घन गरेर भइरहेका विवाह वा सम्बन्धलाई देखाएको छ ।

तथ्याङ्क अनुसार दक्ष प्रसूतिकर्मीबाट ६३ जना, दक्ष स्वास्थ्यकर्मीबाट १७ जना, अन्य स्वास्थ्यकर्मीबाट नौ जना र घरमा नै एक जनाले गरेर ९० जना २० वर्ष मुनीका किशोरीहरू सुत्केरी भएका हुन् । सरकारी स्वास्थ्य संस्थामा गएर गर्भवती जाँच गरेकाहरूको सङ्ख्या सुत्केरी भएकाहरूको भन्दा करिब दोब्बर हुन आउँछ । अघिल्लै आर्थिक वर्षको तथ्याङ्क अनुसार २० वर्ष मुनीका १ सय ४२ जना किशोरीहरूले पहिलो गर्भ परीक्षण गराउँदा उनीहरू सहितका १ सय १६ जनाले १२ हप्तासम्मको, १ सय ४३ जनाले चार पटक र ८७ जनाले मापदण्ड अनुसार आठ पटक नै गर्भ परीक्षण गराएका छन् ।

कानुनमा व्यवस्था भएको भए पनि मौलिक तथा परम्परागत प्रचलन, मान्यता, किशोरकिशोरीहरुको स्वःनिर्णय, चेतनाको अभाव लगायतका कारण नै यो अवस्था देखिएको अधिवक्ता भोलानाथ शर्मा बताउनु हुन्छ । गाउँकै छिमेकीले छोरीको विवाह गरिरहेको बेलामा अर्को छिमेकीले उजुरी दिँदा सामाजिक सम्बन्ध अन्त्य हुने कारणले विवाह भए पनि यस्ता मुद्दाहरु सरोकारवाला निकायमा नआउने गरेको उहाँको भनाइ छ । ‘सांस्कृतिक रूपमा पनि बालविवाह कायम नै छ । दूरदराजका गाउँमा अहिले पनि १७/१८ वर्षमै विवाह गरिदिने चलन छ । कानुनमा व्यवस्था भएको कुरा पूर्ण रूपमा कार्यान्वयन गर्नको लागि चेतनाको स्तरले प्रभाव पारेको हुन्छ ।’-अधिवक्ता शर्माले भन्नु भयो-‘कतिपय अवस्थामा किशोरकिशोरीहरुले स्वःनिर्णय गरेर पनि विवाह गर्ने, गर्भधारण गर्ने गरेका पनि पाइन्छ । अदालतमा बालविवाहसम्बन्धी खासै मुद्दाहरु आउने गरेका छैनन् । १८ वर्षभन्दा कम उमेरमै यौन सम्बन्ध स्थापित भएका कानुनी बलात्कारको मुद्दाहरू भने बरु आउने गरेका छन् ।’


सन्तोष थापा