बालिका अपहरण घटनाका आरोपित गिरफ्तार

बिष्णुपुर गाउँपालिका–४ बेल्हाकी १५ वर्षीया दिपाकुमारी यादवलाई ०८० जेठ २० गते अपहरण शरीर बन्धक तथा हत्या गरेको आरोपमा बिष्णुपुर गाउँपालिका–४ का ३० वर्षीय कृष्णा यादव चैत १७ गते गिरफ्तार भएका छन् ।

आरोपितसहित डाक्नेश्वरी नगरपालिका–६ बथनाहाका २१ वर्षीय रोशन कुमार मण्डल, ४५ वर्षीया शकुन्तलादेबी मण्डल र ५५ वर्षीय सुर्यनारायण मण्डलले अपहरण गरी शरिर बन्धक बनाएको भन्दै पीडितका बुवाले जिल्ला प्रहरी कार्यालयमा ०८० जेठ २१ गते उजुरी दिनुभएको थियो । बिष्णुपुर गाउँपालिका–४ बेल्हास्थित घर अगाडिको डगरबाटोबाट २ ओटा मोटरसाइकलमा आएका आरोपितहरूले अपहरण गरी लगेको पीडित परिवारले बताएका छन् ।

प्रहरीले उजुरी दर्ता नगरेपछि जिल्ला हुलाक कार्यालयबाट जेठ २४ गते उजुरी पठाई उच्च अदालत जनकपुर राजविराज इजलासमा पीडित पक्षले निवेदन दिएका थिए । उच्च अदालत जनकपुर राजविराज इजलासबाट ०८० असोज १२ गते कारवाही बढाउन परमादेश जारी भएको थियो । उच्च सरकारी वकिल कार्यालयले पुस ३ गते जिल्ला प्रहरी कार्यालयलाई परमादेशको जानकारी पठाएको थियो ।

यसैबीच आरोपित रोशनले भारतको दिल्ली लाजपत नगर लगेर बालिकालाई राखेकोमा २०८० मङ्सिर ३० गते हत्या गरेको भन्दै पीडितका मामा छिन्नमस्ता गाउँपालिका–७ बरही बिरपुरका ४० वर्षीय चन्द्रशेखर यादवले ०८० पुस ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । सोही मितिमा परमादेशका लागि दिइएको उजुरी जिल्ला प्रहरी कार्यालयमा सनाखत भएको थियो । बालिका राजविराजस्थित रोज पब्लिक स्कूलमा कक्षा १० मा अध्ययनरत थिइन् ।

जिल्ला प्रहरी कार्यालयमा ०८० पुस ११ गते अपहरण शरिर बन्धक, बलात्कार र मानव बेचबिखन ओसारपसारमा उजुरी दर्ता भएको थियो । आरोपितहरूविरुद्ध माघ २ गते पक्राउ पुर्जी जारी भएको थियो ।


मनोहरकुमार पोखरेल